• १६ चैत २०८०, शुक्रबार

एउटै चिन्हमा चुनाव लड्दै दाहाल र डा. भट्टराई

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन ३० गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी आगामी निर्वाचनमा एउटै निर्वाचन चिन्हबाट लड्दैछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच करिब ६ वर्षपछि एउटै चुनाव चिन्ह अर्थात् गोलाकार भित्रको हसियाँ हथौडा चिन्हमा चुनाव लड्ने सहमति जुटेको हो ।

माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले माओवादीले निर्वाचन आयोगमा हिजो आइतबार दल दर्ता गराएको तर, डा. भट्टराई पनि यही चिन्हमा जाने सहमति आज जुटेपछि थप मंगलबार यसको थप प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।

गोरखापत्र अनलाइनसँग उहाँले भन्नुभयो, “हाम्रो दल हिजो मात्र दर्ता भयो । तर, आज डा. बाबुराम भट्टराई पनि यही निर्वाचन चिन्ह लिएर चुनावमा जाने नयाँ खालको सहमति भयो । त्यो सहमति भएकाले निर्वाचन आायेगले अर्को ढाँचा अनुसूची १४ बमोजिम भोलि यसको प्रक्रिया अघि बढ्छ ।”

पूर्व माओवादी नेता डा. भट्टराईले माओवादीबाट २०६४ सालको संविधान सभाको चुनावमा गोरखा क्षेत्र नम्बर–२, २०७० सालमा गोरखा क्षेत्र नम्बर–१ बाट चुनाव जित्नुभएको थियो । उहाँले २०७३ सालमा नयाँ शक्ति पार्टी गठन गर्नुभयो र२०७४ को प्रतिनिधिसभा चुनावमा ‘आँखा’ निर्वाचन चिन्हबाट चुनाव जित्नुभएको थियो । 

उपाध्यायले अब थप प्रक्रिया अघि बढाउन आयोगमा माओवादी केन्द्र र नेपाल समाजवादीले पार्टीको पदाधिकारी, केन्द्रीय समिति, लेखा प्रतिवेदनको कागजात बुझाउनुपर्ने उल्लेख गर्नुभयो । 

यसपछि आयोगको ढाँचा अनुसारको फारम भरेर, टिकत वितरण गर्ने आधिकारिक व्यक्तिको हस्ताक्षरसहितको सम्पूर्ण कागजपत्र आयोगमा बुझाइने उहाँले भन्नुभयो । माओवादी अध्यक्ष प्रचण्डले यसअघि सार्वजनिक रुपमा आगामी निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बताउँदै आउनु भएको छ ।