• १२ वैशाख २०८१, बुधबार

सत्ता गठबन्धनको कार्यदल बैठक

सिट बाँडफाँटमा २०७४ को निर्वाचन परिणामलाई पनि आधार बनाइने

blog

पत्रकारहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । फाइल तस्बिर

सपना थामी 

काठमाडौं, साउन ३० गते । सत्ता गठबन्धनको सिट बाँडफाँटसम्बन्धी कार्यदलको सोमबार बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटमा २०७४ को निर्वाचन परिणामलाई पनि आधार बनाउने भएको छ । 

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सिट बाँडफाँटका लागि मापदण्ड बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, “कार्यदलको बैठक बस्यो, चाँडोभन्दा चाँडो गृहकार्य पूरा गर्नका निमित्त छलफल व्यवस्थित रुपमा अगाडि बढाइएको छ । गठबन्धनमा सिट बाँडफाँटका लागि २०७४ सालको निर्वाचनमा प्राप्त मत र २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार बनाइने छ ।” 

उहाँले भन्नुभयो, “मापदण्ड बनाउँदा २०७४ को निर्वाचनमा प्राप्त समानुपातिक मत र गएको स्थानीय निर्वाचनको मतको आधारमा हुन्छ । एकीकृत समाजवादीले भने २०७४ मा चुनाव लडेको छैन, यसलाई विशिष्ट रुपमा राखेर मापदण्ड तय गरेर अगाडि बढ्छौं ।”

सिट बाँडफाँट सम्बन्धमा सकेसम्म कार्यदलकै तहमा सहमति खोज्ने र प्रतिवेदन बनाएर नेतृत्वमा दिने मनसाय रहेको उहाँको भनाइ छ । अहिलेको गठबन्धन कसैको विरुद्ध नभएको उल्लेख गर्नुहुँदै उहाँले यी विषयमा सकारात्मक रुपमा कुरा अघि बढेको बताउनुभयो । साथै उहाँले निर्वाचन सुरक्षाको संवेदनशीलतालाई पनि ध्यान दिइने उल्लेख गर्नुभयो । 

यसअघि बसेको कार्यदलको बैठकमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँट गर्ने भनिए पनि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले २०७४ को निर्वाचन परिणामलाई पनि आधार बनाउनुपर्ने अडान लिएका थिए । 

गठबन्धन कार्यदलको बैठक बुधबार दिउँसो ४ बजे फेरि बस्नेछ ।