• ११ वैशाख २०८१, मङ्गलबार

श्रीमानद्वारा जलाइएकी प्रमिलाको मृत्यु

blog

श्रीमती र सासुलाई मट्टितेल छर्केर आगो लगाउने शंकर सदा ।

महेशकुमार दास
जलेश्वर, साउन ३० गते ।
श्रीमानले आगो लगाएर जलाइएकी प्रमिला सदाको मृत्यु भएको छ । आगोबाट शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेर गम्भीर घाइते हुनुभएको सदाको आइतबार राति मृत्यु भएको हो । सदाको भतिजो ललित सदाले काठमाडौं कीर्तिपुरस्थित वर्नवार्डमा उपचाररत प्रमिलाको मृत्यु भएको जानकारी दिनुभयो ।

औरही नगरपालिका –८ भोइल टिमकीया घर भएका ४० वर्षीय शंकर सदाले साउन २१ गते राति भंगहा नगरपालिका –९ कञ्चनवनस्थित माइतीमा आमासँगै सुत्नुभएको प्रमिला र सासु रेशमा देवीमाथि मट्टितेल छर्केर आगो लगाउनुभएको थियो ।

महोत्तरी प्रहरीले श्रीमान् शंकर सदालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले श्रीमती र सासुलाई आगो लगाएर फररा भएका शंकरलाई साउन २५ गते पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको जानकारी दिनुभयो ।

यसैगरी, आगोले जलेर घाइते हुनुभएका ६५ वर्षीय सासु रेशमा देवीको भने १० प्रतिशत शरीर जलेको छ भने उहाँको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शंकर सदाले वैदेशिक रोजगारीबाट कमाएको सम्पती श्रीमती र सासुले मिलेर सिध्याएको र श्रीमती परपुरुषसँग लागेको भन्दै दुबैलाई आगो लगाई हत्या गर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो ।

प्रहरी नियन्त्रणमा रहेका शंकरलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रखिएको छ भने ज्यान मार्ने उद्योगअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।