• १५ वैशाख २०८१, शनिबार

प्रशिक्षक थापासँग फुटबलबारे अन्तक्रिया

blog

फुटबलर श्याम थापा ।

काठमाडौं, साउन २९ गते । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक तथा दक्षिण एसियाली फुटबलर श्याम थापासँग फुटबल खेलबारे अन्तरक्रिया गरिएको छ । खेलाडी डटकमले हाम्रो फुटबल नेपालसँगको सहकार्यमा आइतबार थापासँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

गुल्मीमा जन्मिनु भएका थापा लामो समयदेखि भारतमा बस्दै आउनुभएको छ । ७४ वर्षीय थापाले भारतको राष्ट्रिय टोलीबाट समेत खेल्नुभएको थियो । कार्यक्रममा थापाले फुटबलमा आफुले खेलेको भूमिका र पाएको अवसर बारे चर्चा गर्नुभयो । उहाँले नेपाली फुटबलमा विताएको क्षण र फुटबल विकासका लागि अपनाउनु पर्ने प्राविधिक पाटोका बारेमा समेत जानकारी दिनुभएको थियो ।

थापाले भारतको चर्चित क्लब इस्ट बंगाल र मोहन बगानबाट खेल्नुका साथै प्रशिक्षकको भूमिका समेत निर्वाह गर्नुभएको छ । विश्वका महान खेलाडी पेले र म्याराडोनासँग खेल्ने अवसर पाउनु भएका थापाले मोहन बगानबाट पेलेको टोलीविरुद्ध गोल समेत गरेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रमा फुटबल खेलाडी, सर्मथक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको ‘मोडरेट’ खेलाडी डटकमका प्रबन्ध सम्पादक अजय फुयालले गर्नुभएको थियो । 

यसअघि थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि स्वागत गरेको थियो । थापालाई सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, एन्फाका मानार्थ अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष बिराटजंग शाही, दावा लामा, दीपक खतिवडा लगायतले स्वागत गर्नुभएको थियो ।

उक्त अवसरमा थापाले फुटबलमा दिनुभएको योगदानको चर्चा गरिएको थियो । नेपाली क्लब ब्वाइज युनियनको पूर्व खेलाडी समेत रहनु भएका थापा ब्वाइज युनियन क्लबको निमन्त्रणामा नेपाल आउनु भएको हो ।