• १३ वैशाख २०८१, बिहिबार

‘भ्रष्टाचारले सबै क्षेत्र प्रभावित पार्दै छ’

blog

ढल्केबर समाचारदाता

ढल्केबर, साउन २९ गते । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले भ्रष्टाचारले सबै क्षेत्रलाई प्रभावित पार्दै गएको बताउनुभएको छ। शनिबार जनकपुरधामस्थित बार एसोसिएसनको सभा कक्षमा राखिएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन चित्र प्रदर्शनी’ को उद्घाटन गर्दै उहाँले स्थानीय तह, सरकारी निकाय र न्यायालयमा समेत भ्रष्टाचारले जरो गाड्दै गएको बताउनुभयो। 

“न्यायको अपेक्षा लिएर अदालत पुगेका सेवाग्राहीसँग एउटा छाप लगाइदिए बापत पाँच/सात सय रुपियाँ कर्मचारीले लिने गरेको छ। यो एक किसिमको वैधानिक भ्रष्टाचार हो। भ्रष्टाचार अन्त्य गर्न देशका मूल नेतृत्व कठोर भएर नलागेसम्म नियन्त्रणमा आउन सक्दैन,” गृहमन्त्री साहले भन्नुभयो। उहाँले उद्घाटन कार्यक्रमपश्चात् प्रदर्शनीमा राखिएका भ्रष्टाचारविरुद्ध व्यङ्ग्य चित्रको अवलोकन गर्नुभएको थियो । 

सेन्टर फर मिडिया रिसर्चको सहयोग तथा काटुर्निस्ट क्लब अफ नेपालको आयोजनामा भ्रष्टाचारविरुद्ध कार्टुन चित्र प्रदर्शनीमा राखिएको छ। आइतबारसम्म चल्ने प्रदर्शनीमा ४१ जना उत्कृष्ट काटुर्निस्टका ५१ वटा कार्टुन चित्र राखिएको आयोजक समितिका संयोजक केशवराज खनालले बताउनुभयो। 

उहाँले भ्रष्टाचारविरुद्ध खुला रूपमा बहस चलाउन र भ्रष्टाचारलाई जरैबाट निमिट्यान्न पार्नुपर्छ भन्ने उद्देश्यका साथ सो कार्टुन चित्र प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो। हजारौँ शब्दले व्याख्या गर्न नसक्ने विषयलाई एउटा चित्रले व्यक्त गर्न सक्ने बताउँदै उहाँले प्रदर्शनी हेर्न नछुटाउन सबैलाई आग्रह गर्नुभयो।