• ७ वैशाख २०८१, शुक्रबार

चालक अनुमतिपत्रको आवेदनमा पनि बिचौलिया

blog

राममणि दाहाल

हेटौँडा, साउन २९ गते ।  बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिन सक्ने सङ्ख्यामा वृद्धि गरेको छ। मन्त्रालय मातहतका कार्यालयमा सवारीचालक अनुमतिपत्रको वर्ग थप र नयाँ आवेदन दिने सेवाग्राहीको चाप बढेपछि आवेदन दिन सक्ने सङ्ख्यामा (कोटा) वृद्धि गरेको हो। मन्त्रालयले मङ्गलबार साँझबाट लागू हुने गरी आवेदन दिन सक्ने सङ्ख्या वृद्धि गरेको छ। 

गत असार २८ गते मन्त्रालय मातहतका पाँच कार्यालयका लागि विभिन्न वर्गका सवारीसाधनको गरी दैनिक दुई हजार ४६० जनाले आवेदन दिन सक्ने व्यवस्था थियो। मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले पछिल्लो समय सवारीचालक अनुमतिपत्रको वर्ग थप र नयाँ आवेदन दिने सेवाग्राहीको चाप बढेकाले आवेदन सङ्ख्या बढाइएको बताउनुभयो। उहाँका अनुसार शुक्रबारबाट एकै दिनमा तीन हजार ६७५ जनाले आवेदन दिन सक्ने गरी सङ्ख्या बढाइएको छ। आवेदन दिन सक्ने यो सङ्ख्याले १५ दिनसम्म निरन्तरता पाउने र अवस्था हेरेर थपघट हुन सक्ने भन्दै उहाँले भन्नुभयो, “आवेदन दिन तोकिएकै सङ्ख्यामा एकै दिनमा चालक अनुमतिपत्रका लागि परीक्षण दिन सक्ने व्यवस्था मिलाइएको छ।” अनलाइनमार्फत सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीले आवेदन दिन लाग्दा कोटा छिट्टै सकिने, सर्वर डाउनलगायतका समस्या देखाउँदै आएको थियो। 

साथै बिचौलियाले सवारीचालक अनुमतिपत्रका लागि आवेदन भरेर राखी कब्जा गर्ने र पछि नाम ठेगाना परिवर्तन गरी आर्थिक लेनदेन गर्ने गरेको सार्वजनिक हुँदै आएको छ। बिचौलियाले आवेदन भरेर कब्जा गर्न थालेपछि वास्तविक सेवाग्राही आवेदन दिनबाट वञ्चित हुँदै आएका थिए। 

सवारीचालक अनुमतिपत्रका लागि आवेदनमा समेत बिचौलियाले आर्थिक लेनदेन गरेर काम गरेको सार्वजनिक भएपछि मन्त्रालयले अब आवेदकबाट प्राप्त सुरु विवरण संशोधन गर्न रोक लगाउने तयारी गरिरहेको जनाएको छ । प्रवक्ता पोखरेलले सेवाग्राहीको अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भएमा अर्को मितिका लागि आवेदन दिन सकिने बताउँदै मन्त्रालयले मातहतका कार्यालयबाट सेवा सुधारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले सेवाग्राहीलाई आवेदन विवरण त्रुटिरहित हुने गरी भर्न आग्रह गर्दै सेवाग्राहीको चाप बढेकाले व्यवस्थापन गर्न अतिरिक्त समयमा कार्यालय सञ्चालन भइरहेको बताउनुभयो। 

अनलाइनमार्फत वर्ग थप वा नयाँ आवेदन यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, एकान्तकुना, ललितपुर, यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, ठूलो भ-याङ, काठमाडौँ, यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, चाबहिल, काठमाडौँ र यातायात व्यवस्था कार्यालय, हेटौँडामा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।