• २२ वैशाख २०८१, शनिबार

खोला मिचेर प्लटिङ र घर, बर्सेनि बाढीको बबन्डर

blog

काठमाडौँ, साउन २६ गते । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती मङ्गलबार रातिदेखि भएको भीषण वर्षाका कारण जलमग्न भए।  

मनोहरा मात्र होइन, काठमाडौँ उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो। कागेश्वरी मनोहरासँगै गोकर्णेश्वर नगरपालिकामा पनि डुबान र पहिरोको प्रताडनामा स्थानीयवासी परेका छन्। भौतिक संरचनासँगै स्थानीयवासीले लगाएको तरकारी र धान बालीमा पनि बाढीले क्षति पु-याएको छ।

कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार वडा नं. १, २, ३ र ५ मा बाढीले क्षति पु-याएको छ। उहाँले मनोहरा खोलामा आएको बाढीका कारण पाँचवटा घरटहरा र तीनवटा साना उद्योग बगाएको बताउनुभयो। उहाँले भन्नुभयो, “फोहोरमैला व्यवस्थापन गर्ने पाँचवटा गाडी, प्रहरी चौकीको भौतिक संरचनामा क्षति पुगेको छ भने खोला आसपासका कैयौँ पर्खाल बाढीले बगाएको छ। अधिकांश संरचना खोला मिचेर बनाएकै कारण बगेका हुन्।”

कागेश्वरी मनोहरामा बागमती नदीसँगै मनोहरा र महादेव खोलाले किनार क्षेत्र र फाँटमा बनाइएका बस्तीमा क्षति पु-याएको छ। मनोहराका स्थानीय रामजी खड्काले खोलाको बगरमा प्लटिङ गरेका कारण उपल्लो क्षेत्रमा खोला सोझिएको बताउनुभयो। उहाँले भन्नुभयो, “मनोहरा खोलाको फाँटमा बाली लगाइन्छ। अहिले पनि धेरै बासिन्दाले धान रोप्नुभएको छ तर १० वर्षयता भूमाफियाले धमाधम प्लटिङ गरेका कारण खोला फाँटभन्दा वरपरका बस्तीमा पुग्न थालेको हो।”

२०४० सालदेखि कागेश्वरी मनोहरा–६ मा बस्दै आउनुभएका खड्काले केही वर्षयता मात्रै बाढीले भीषण रूप लिन थालेको बताउनुभयो। उहाँले उक्त क्षेत्रमा गरिएको प्लटिङ बगाएर त्यसमाथि खोला कुद्न थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “खोलाले धार फेरेर प्लटिङ बगायो, त्यसमाथि बालुवा भरियो, बगर नजिकका अरू प्लटिङका कारण फेरि बाढीको समस्या सुरु भयो।”

अनधिकृत प्लटिङले समस्या

नगरप्रमुख कार्कीका अनुसार कागेश्वरी मनोहरामा दुईवटा प्लटिङ कम्पनीले मात्रै अनुमति लिएर जग्गाको कारोबार गर्दै आएका छन्। उहाँले भन्नुभयो, “भूमाफियाको गिरोह यहाँ सक्रिय छ, सयौँले अनधिकृत रूपमा डाँडा भत्काउने र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी प्लटिङको काम गरेका छन्। त्यही कारण माटो कटान भई बाढी आएको हो।”

उहाँले अनधिकृत प्लटिङलाई रोक्का गरेर व्यवस्थित गर्ने र मनोहरा नदीको तटबन्ध निर्माण गर्ने बताउँदै जथाभावी उत्खनन गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले वडा नं. ८ सहित केही वडामा बागमती नदीले डुबान र कटान गरेको बताउनुभयो। माकलबारी आसपासका क्षेत्रमा बाढीको समस्या देखिएको बताउनुभयो। उहाँले भन्नुभयो, “अनियन्त्रित र अव्यवस्थित प्लटिङ नै गोकर्णेश्वर नगरका धेरै क्षेत्र डुबानमा परेका हुन्, अरू समस्या पनि छन्। ती समस्या समाधानका लागि अध्ययनको काम भइरहेको छ।”

रिसालले प्लटिङ गर्दा नदी र खोला किनारमा बोरामा बालुवा र माटोको पर्खाल लगाउने र त्यसले कटान निम्त्याउने भएकाले अब नदीको मापदण्ड पालना गराउने र ढुङ्गाकै पर्खाल लगाउन सर्कुलर गरेको उल्लेख गर्नुभयो।