• १६ चैत २०८०, शुक्रबार

कैलालीमा एघार हजार मतदाता थपिए

blog

अविनाश चौधरी

धनगढी, साउन २५ गते । कैलालीमा ११ हजार ४३० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले गत असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम थालेको थियो । 

स्थानीय तह निर्वाचनकोबेला जिल्लामा पाँच लाख २५ हजार १२५ जना मतदाता थिए । नयाँ थप मतदातासहित अब मतदाता सङ्ख्या पाँच लाख ३६ हजार ५५५ पुगेको छ । यद्यपि त्रुटि सच्याउने र हटाउने कार्य गरेर अन्तिम नामावली प्रकाशन भएपछि मात्रै वास्तविक तथ्याङ्क आउने जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो । 

स्थानीय तह निर्वाचनको बेला धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ९३ हजार १५१ मतदाता थिए । यस्तै, गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४० र गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता सङ्ख्या रहेको थियो । 

यसैगरी, कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका थिए । यस्तै, बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ मतदाता सङ्ख्या  थियो । 

यसैगरी, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन तयारी थालिएको छ । सरकारले आगामी मङ्सिर ४ गते निर्वाचनको मिति तोकेपछि जिल्ला निर्वाचन कार्यालयले तयारी अगाडि बढाएको जनाएको छ । सरकारले निर्वाचनको मिति तोकेलगत्तै मतदाता नामावली सङ्कलन गर्ने र सार्ने कार्य बन्द गरेर तयारीमा जुटेको प्रमुख भट्टले बताउनुभयो । 

‘अहिले निर्वाचन सामग्री चेकजाँच गर्ने, आयोगमा विवरण पठाउने लगायतका तयारीको काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘हामी तयारीमा जुुटिसकेका छौं ।’ निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य रोकिसकेको छ । अब त्रुटी सच्याउने, दोहोरिएको हटाउने लगायतको काम गरेर अन्तिम नामावली प्रकाशन गरिने प्रमुख भट्टले जानकारी दिनुभयो । 

यस पटक कैलालीमा एउटा मतदानस्थल थपको प्रस्ताव गरिएको छ । टीकापुर नगरपालिकामा एउटा मतदान स्थल थपको प्रस्ताव आयोगमा पठाएको भट्टले बताउनुभयो । ‘टीकापुरका मतदानस्थलमा बढी भीडभाड हुनेगरेको देखिएकाले एउटा मतदान स्थल थपको प्रस्ताव गरेका हौं’, उहाँले भन्नुभयो । यो जिल्लामा मतदानस्थल सङ्ख्या २३६ छ । एउटा थप भएमा २३७ पुग्नेछ । जिल्लाभरि मतदान केन्द्र भने ६१९ छ ।