• ४ जेठ २०८१, शुक्रबार

साउने सोमबार र बोलबम

blog

काठमाडौँ, साउन २४ गते । साउन महिनालाई भोग–विलासबाट मुक्त भएर आध्यात्मिक चिन्तन गर्ने महिनाका रूपमा लिइन्छ। साउन महिनाको चौथो सोमबार बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीडकाबीच बोलबमको आकर्षण पनि थपिएको छ। शिवभक्तहरू गेरु वस्त्रमा सजिएर खाली खुट्टा पैदल यात्रा गर्दछन्। जसलाई बोलबम यात्रा भनिन्छ। बोलबम यात्राका लागि साउनको सोमबारलाई अझ विशेष मानिन्छ।

बोलबम यात्रीले सुन्दरीजल पुगेर पूजाआराधना गरेका छन्। सो यात्रामा बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्म सहभागी थिए। बोलबममा कोही टिकटक बनाउन व्यस्त देखिन्थ्यो भने कोही तस्बिर खिच्नमा।

के हो बोलबम ?

बोलबमको अर्थ शिवको मन्त्र जप्नु हो, ज्योतिष हरि अधिकारी भन्नुहुन्छ,  “यसरी शिवको मन्त्र उच्चारण गर्नुको फाइदा छ। जब हामी मन्त्रोच्चारण गर्छौं, त्यसले पैदा गर्ने तरङ्गले शरीरमा ऊर्जा प्राप्त हुन्छ।”

उहाँले बोलबमले सात्विक जीवनशैलीतर्फ डो-याउने तर्क दिनुभयो। बोलबम हिँड्नेले तामसिक जीवनशैली पूर्णतः त्याग्नुपर्छ। खानपान र जीवनशैलीदेखि पहिरनसम्ममा सतर्क हुनुपर्छ। सादा एवं सुपाच्य खानेकुरा खानु वा उपवास बस्नुपर्ने चलन छ, बोलबममा। बोलबम हिँड्नुलाई काँवरिया भनिन्छ। उनीहरूले काँधमा बोक्ने बाँसको भाटालाई काँवर भनिन्छ, जसको दुई छेउमा घैला झुन्ड्याएर त्यसमा पानी भरेर नजिकको शिवालयमा पु-याइन्छ। उक्त पानी शिवलिङ्गमा चढाइन्छ। त्यससँगै बेलपत्र, कुशको फूल, समीको पात, नीलकमल तथा धतुराको फूलले पूजा गरिन्छ।

अधिकारीका अनुसार बोलबमको साङ्केतिक अर्थ हो, पानी र सृष्टिको महत्त्वलाई दर्शाउनु। चराचर जगत् पानीमै आश्रित छ। पानीबिना सृष्टि सम्भव छैन। शिवलिङ्गलाई सृष्टिको प्रतीक पनि मानिन्छ।