• १६ चैत २०८०, शुक्रबार

भवन बन्यो, सेवा सुरु भएन

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन २४ गते । सिमकोट गाउँपालिका–५, तल्लो गाउँमा सामुदायिक स्वास्थ्य एकाइको भवन बने पनि सञ्चालनमा आउन सकेको छैन। भवन निर्माण सम्पन्न भएको एक वर्ष भइसक्दा पनि सो एकाइका लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्था हुन नसक्दा सञ्चालनमा आउन नसकेको बताइएको छ।

आर्थिक वर्ष २०७७/७८ को बजेटबाट उक्त भवन निर्माण सम्पन्न भएको हो। सामुदायिक स्वास्थ्य एकाइका लागि आवश्यक पर्ने संरचनासहितको भवन निर्माण भएर पनि जनशक्ति र उपकरण नहुँदा समस्या भएको छ। सो वडाका वडाध्यक्ष चीन रावतले भवन निर्माण सकिनेबित्तिकै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनका लागि गाउँपालिकासँग बजेट माग गरिएको बताउनुभयो तर त्यसबारे कुनै सुनुवाइ नभएको उहाँले बताउनुुभयो । अघिल्लो कार्यकालका अध्यक्ष कृष्णबहादुुर बोहरा र आफूले गरी पाँच पटक बजेट माग गरेको भए पनि माग सम्बोधन गर्न पहुँच नपुगेको उहाँको भनाइ छ । 

लाखौँ रकम खर्च गरेर भवन निर्माण गरिएको भए पनि हाल त्यो भवन प्रयोगहीन छ। सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले गाउँपालिका आफैँले जनशक्ति उपलब्ध गराउन नसक्ने तर त्यसका लागि प्रदेश सरकारसँग माग गर्दा हालसम्म कुनै प्रतिक्रिया नआएको बताउनुभयो। 

सो भवन सङ्घीय सरकारको सहयोग, गाउँपालिका र स्थानीयवासीको जनश्रमदान गरी ३५ लाख रुपियाँको लागतमा निर्माण भएको हो, शौचालयसहित पाँचकोठे भवन तयार भएको छ।