• १५ वैशाख २०८१, शनिबार

स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याइँदै

blog

तुलसीपुर समाचारदाता

तुलसीपुर, साउन २३ गते । जिल्लाका अधिकांश स्थानीय सरकार पाठ्यक्रम तयार पारेर कार्यान्वयनको तयारीमा जुटेका छन्। जिल्लाका दुई उपमहानगरसहित पाँचवटा पालिकाले पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएका छन्। संविधानमै कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार पारेर अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। 

घोराही उपमहानगरपालिकाले थारू भाषामा पाठ्यक्रम तयार पारेर कक्षा १ देखि ३ सम्म परीक्षण गरेको थियो। यद्यपि यो उपमहानगरपालिकाले अझै स्थानीय पाठ्यक्रम भने कार्यान्वयनमा ल्याएको छैन। दङ्गीशरण, बङ्गलाचुली, राप्ती र राजपुर गाउँपालिकाले पाठ्यक्रम तयार पारिसकेका छन् तर पाठ्यपुस्तक भने अझै पठाइएको छैन। 

पाठ्यक्रममा प्राविधिक सहयोग गर्दै आउनुभएका महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुदर्शन रिजालले स्थानीय पाठ्यक्रम अन्य पाठ्यपुस्तकमा समावेश नभएका स्थानीय भाषा, संस्कृति, सीप, कला, पर्यटकीय, धार्मिक स्थल, सामाजिक, आर्थिक अवस्था समेटेर तयार पारिएको बताउनुभयो। स्थानीय पाठ्यक्रम तयार पार्न लमही नगरपालिका, बबई र दङ्गीशरण गाउँपालिकाले समेत काम गर्दै आएका छन्। यद्यपि अझै पाठ्यक्रम तयार भने पारेका छैनन्। स्थानीय पाठ्यक्रमबाट विद्यार्थीले परम्परा, भाषा, संस्कृति, सीप, कलाका बारेमा जानकारी लिन सक्ने उपप्राध्यापक सुदर्शन रिजालले बताउनुभयो। 

घोराही उपमहानगरपालिकाले पहिलो चरणमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम निर्माण गरी थारू भाषामा पाठ्यपुस्तक तयार पारेको शिक्षा महाशाखाका प्रमुख उपसचिव विनोद गौतमले जानकारी दिनुभयो। तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएको छ। पाठ्यक्रम कक्षा ५ र ८ बाहेक अन्य कक्षामा यसै वर्षदेखि नै कार्यान्वयनमा ल्याइएको हो। शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीका अनुसार पाठ्यक्रममा कक्षा १ देखि ५ सम्म तुलसीपुरको परिचय, स्थानीय संरचना सेवा प्रवाह, तुलसीपुर क्षेत्रमा रहेका सम्पदा, पेसा, व्यवसाय र प्रविधि, मानवीय मूल्य र स्वास्थ्य शिक्षा, वातावरण र कर्तव्य, दुर्घटना र विपत् व्यवस्थापन शीर्षकमा तयार पारिएको छ भने कक्षा ६, ७ र ८ का यी विषयवस्तुसहित व्यावहारिक लेखनलाई समेत समेटिएको छ।