• २८ फागुन २०८१, बुधबार

पालना गर्नै पर्छ कानुन

blog

व्यक्तिका आचरण, व्यवहार र कार्यलाई नियमित तथा नियन्त्रित गर्नका लागि राज्य (संसद्) द्वारा निर्मित आवश्यक साधनलाई कानुन भनिन्छ । यसको पालना नगर्नेलाई कानुन अनुसार विभिन्न सजाय तोकिएका हुन्छन् । 

लोकतन्त्रमा सार्वभौम संसद्द्वारा मात्र कानुनको निर्माण गरिन्छ । सरकारले कानुनको कार्यान्वयनमा भूमिका खेल्छ भने अदालतले कानुनको व्याख्या गर्दछ । कुनै पनि कानुनमा सजाय तत्व रहेको हुन्छ । सजाय नभएको कानुनको अर्थ हुँदैन ।

व्यक्तिले के गर्नु हुन्छ र के गर्नु हुँदैन ? भन्ने विषयमा विभिन्न कानुनमा आवश्यकता अनुसार व्यवस्था उल्लेख गरिएका हुन्छन् । कुनै पनि व्यक्तिले कानुनले निषेध गरेका कार्य गर्नु हुन्न । अर्को व्यक्तिको अधिकार, हित र निजी स्वतन्त्रतामाथि आँच पुग्ने गरी कार्य गर्नु पनि हुँदैन । साथै सामाजिक प्रथा र नैतिकताको समेत ख्याल गरेर कार्य गर्नु पर्दछ । 

प्राकृतिक कानुनी सम्प्र्रदायमा विश्वास राख्नेले नैतिकता र मानवीय मूल्यलाई जोड दिएका छन् । विश्लेषणात्मक कानुनी मान्यता राख्ने बेलायती विधिशास्त्रीले चाहिँ कानुनमा नैतिक मूल्यको कुनै अर्थ नहुने उल्लेख गरेको देखिन्छ ।

प्राकृतिक कानुनी सम्प्रदायका ग्रिक दार्शनिक प्लेटो (४२४–३४७ बिसी) ले आफ्नो पुस्तक ‘पोलिटिक्स’ मा शासक शिक्षित र नैतिकवान् हुनुपर्ने भनेका छन् । दार्शनिक सुकरात (४७०–३९९ बिसी) ले पनि प्लेटोको जस्तै मानवीय नैतिकतामा जोड दिएको देखिन्छ । अरिस्टोटल (३८५–३२२ बिसी) को ‘निकोमाकेन इथिक्स’ ले प्राकृतिक दर्शन, नैतिकता, मूल्य जस्ता पक्षलाई बढी जोड दिएको छ । 

अमेरिकी विधिशास्त्री लोन एल फुलर 

(१९०२–१९७८ ) ले सन् १९६४ मा प्रकाशित गरेको ‘द मोरालिटी अफ ल’ मा कानुनमा नैतिकताको अपरिहार्य दर्शाए । बेलायती दार्शनिकले भने कानुनमा नैतिकताको अर्थ नहुने दृष्टिकोण अगाडि सारे । थोमस हब्स, जोन लक,  जेरमी बेन्थम, जोन अस्टिन, डेभिड हुम आदिले कानुनमा नैतिकताको अर्थ तथा महत्व नहुने भने । 

कानुन के हो ? कानुनलाई कसरी बुझ्ने भन्नेमा विधिशास्त्रीका भिन्न मत रहेका छन् । अमेरिकी विधिशास्त्री एचएए हार्टले कानुनमा नैतिक मूल्यको खास अर्थ नहुने भने । कानुन शासक र अधिकारीको एकतर्फी आदेश र नियन्त्रणको माध्यम मात्र नभएर राज्य, जनता, समाज र व्यक्तिका साझा हित र आवश्यकताका लागि निर्माण गरिएको विधि हो । यसलाई वैध सामाजिक करार पनि भन्न सकिन्छ । 

दार्शनिक थोमस हब्स, जोन लक र ज्याँ ज्याक रुसोले राज्य र जनताबीचमा करार हुने भएकाले कसैले पनि करार उल्लङ्घन गरे सामाजिक व्यवस्थामा खलल पर्ने बनाए । नैतिकताले मात्र आधुनिक समाजमा शासन र राज्य व्यवस्था सञ्चालन हुन सक्दैन । नैतिक र मानवीय मूल्य नभएको कानुन पनि समाजमा लागू हुनै नसक्ने देखिन्छ । अर्थात् कानुन बाध्यकारी हुन्छ । कानुनमा सजाय तोकिएका हुन्छन् । 

कानुन व्यक्ति र समाजको आचरण नियन्त्रण गर्न राज्यले प्रबन्ध गरेको वैधानिक व्यवस्था भएकाले त्यसको पालना प्रत्येकले गर्नु पर्दछ । ‘कानुनको अज्ञानता क्षम्य हुँदैन’ भन्ने कानुनको आधारभूत मान्यता रहेको छ । त्यसो भएर कानुनको जानकारी भएन, थाहा भएन भनेर छुट पाइँदैन । कानुनभन्दा माथि कोही पनि हुँदैन । कानुन निर्माण भइसकेपछि कानुन निर्मातालाई नै कानुनले कानुन अनुसार कारबाही गर्न सक्छ । 

कानुनको पूर्ण पालना भएको खण्डमा मात्र समाजमा शान्ति सुरक्षा, अमनचैन, व्यक्तिका निजी अधिकार र समाजको सुरक्षा तथा हित सुरक्षित हुन सक्छ । कानुन पालना भएन भने अराजकता, आतङ्क र असुरक्षा बढ्छ । कानुनको बर्खिलाप कार्य गर्ने र कानुन उल्लङ्घन गर्नेलाई कानुन अनुसार राज्यका निकायबाट आवश्यक सजाय, जरिबाना र कैद हुन्छ । 

कानुनमा उल्लिखितबाहेक कसैले सजाय गर्न नसक्ने भए पनि कानुनको व्याख्या गर्ने अदालतले संविधान, कानुन व्याख्याको सिद्धान्त, सम्बन्धित कानुनको प्रबन्ध, अदालती नजिर तथा बहसका क्रममा आएका तथ्य, प्रमाण आदिका आधारमा फैसला गर्दछ ।

कानुन पालना नगरे के हुन्छ ?

कानुन पालना नगर्ने जो काहीलाई कानुनबमोजिम सजाय हुन्छ । ख्याल ख्यालमा गरिएका सामान्य गल्ती, लापर्बाही र हेलचेक्रयाइँमा समेत कतिपय अवस्थामा ठूलो सजाय, कैद र जरिबाना हुने अवस्था हुन सक्छ । लागूऔषध (नियन्त्रण) ऐन, सवारी ऐन, करणीमा कारबाही हुने विभिन्न कार्य, विद्युतीय कारोबार ऐन आदिमा युवाद्वारा बढी लापर्बाही र हेलचेक्रयाइँ हुने भएका कारण उनीहरू फस्ने गरेका छन् । यस्ता कतिपय कानुनमा ‘स्ट्रिक रुल अफ कन्ट्रक्सन’ (कानुन व्याख्याको कडा नियम) उल्लेख भएकाले व्यक्तिको अपराध गर्ने मनसाय र नियत नभएको भए पनि आपराधिक कार्य हुनेबित्तिकै कडा सजाय हुन्छ । 

लागूऔषधको प्रयोग, ओसारपसार र भन्डारण आदिमा कानुनले नियत खोज्दैन । कार्य मात्र भए पनि कडा सजाय हुन्छ । सामाजिक सञ्जालमा साथीलाई वा कसैलाई जिस्किएर वा लापर्बाहीसाथ भए गरिएका कार्यमा कार्य गर्नेलाई कानुनले छुट दिन सक्दैन । कसैले कुनै महिलालाई गरेको यौनजन्य अपराधमा कानुनले कडा रूपमा हेर्ने गरेको छ । 

यसरी प्रत्येकले कानुनको सामान्य ज्ञान लिने, आफ्ना कार्य र काम गर्दा होसियारी अपनाउने, जिम्मेवार हुने र मूलतः अर्को व्यक्ति, नागरिक वा मान्छेका अधिकार, हित र कसैको निजी सम्पत्ति वा निजी क्षेत्रमा प्रवेश गर्ने वा अतिक्रमण गर्ने वा गलत प्रयोग गर्ने तथा लापर्बाही कार्य गर्नु पटक्कै हुँदैन । यसमा प्रत्येक युवा पूर्ण रूपमा सचेत तथा गम्भीर हुनु पर्दछ । 

  –युवामञ्च