गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २८ गते । निर्माण घोषणादेखि नै प्रतिक्षित बनेको नेपाली चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसर पार्दै प्रदर्शनमा आउने घोषणा गरिएको छ । मङ्गलबार पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माताले चलचित्रको प्रदर्शन मिति तोक्नुभएको हो । सोही मितिमा विदेशमा पनि चलचित्र प्रदर्शन हुने जनाइएको छ ।
रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा प्रमुख कलाकारको गम्भीर र चुनौतीपूर्ण हाउभाउ छ । पोस्टरको केन्द्रमा टोपी लगाएका पुरुषलाई देख्न सकिन्छ, जो अभिनेता आर्यन सिग्देल हुनुहुन्छ, उहाँलाई राजनीतिक वा प्रशासनिक व्यक्तिका रूपमा देख्न सकिन्छ । उहाँका वरिपरि अन्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई देख्न सकिन्छ । पोस्टरमा देखिइएका पात्रहरूको अनुहारमा आक्रोश, पीडा र सङ्र्षका भाव देखिन्छ । सामाजिक तथा यथार्थपरक विषयमाथि बनेको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नुभएको छ ।