काठमाडौँ, फागुन २८ गते । निर्देशक यादवकुमार भट्टराईको तेस्रो चलचित्र ‘झिल्को’ को टिजर सार्वजनिक भएको छ । चलचित्रले मोबाइलको प्रयोगबाट बालबालिकामा पर्ने असरको कथा भन्ने प्रयास गरेको छ । अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ । टिजरमा कथावस्तु र चरित्रचित्रणको सङ्क्षिप्त झलक दर्साइएको छ ।
चलचित्रमा आयुषी ढकाल, सुनील पोखरेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय रहेको छ । मिडिया फर कल्चर प्रालिको प्रस्तुति र जनता टिभीको निर्माण सहकार्य रहेको चलचित्र वैशाख १९ गते प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।