• २८ फागुन २०८१, बुधबार

बुटवल गोरुसिङ्गे सडकः रुख कटानको काम अन्तिम चरणमा

blog

बुटवल पश्चिम सैनामैनामा सडक विस्तारको काम गरिँदै । तस्बिरः छविलाल पाण्डे

छविलाल पाण्डे
बुटवल, फागुन २७ गते ।
बुटवल गोरुसिङ्गे ५० किलोमिटर सडक स्तरोन्नतीको काम अहिले धमाधम भइरहेको छ । सडक किनारमा रहेका रुखहरूको कटानी, छटानी र ढुवानीको काम अन्तिम चरणमा पुगेको छ ।

यसैगरी, विद्युतका पोल सार्ने र सडकको मापदण्डभित्र परेका घर भत्काउने काम भइरहेको छ । बुटवल गोरुसिङ्गे सडक आयोजना बुटवलका प्रमुख कुशलता न्यौपानेले माघ ११ गते शिलान्यास भएको यो सडकको करिब डेढ महिनामा भएको प्रगतिले आफूहरूलाई उत्साहित बनाएको बताउनुभयो ।

सडकको स्तरोन्नतीका क्रममा निर्माण व्यावसायीदेखि आयोजनाभित्र परेका पालिकाहरूले समेत समस्या आइपर्दा सहजीकरण गरेर समाधानको पहल गरेकाले यो सडक छिटो निर्माण होस् भन्ने विषयमा सबैको चासो र चिन्ता देखिएको उहाँले बताउनुभयो ।
आयोजना प्रमुख न्यौपानेले अहिले सालझण्डीदेखि बुटवलसम्मको सडक क्षेत्रभित्र पर्ने रुख कटानको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । 

यसैगरी, रुख कटान भएका क्षेत्रमा बाटो विस्तारकै क्रममा बाटो फराकिलो बनाउने काममा अहिले डोजरले काम गरिरहेको आयोजनाले जनाएको छ ।

अहिले उक्त सडकखण्डमा पक्की पुलको निर्माणको काम पनि सुरु भएको छ । उक्त सडक खण्डमा ३० वटा नयाँ पक्की पुल बन्दैछन् ।

उक्त सडकखण्डको गत माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट बुटवलको जीतगढीमा शिलान्यास गर्नुभएको थियो ।

सडक स्तरोन्नतीका क्रममा पहिलो चरणमा ३० वटा पुल निर्माण हुनेछ भने १४९ वटा कल्भर्ट पनि निर्माण हुनेछ ।

आयोजना प्रमुख न्यौपानेका अनुसार उक्त सडक खण्डमा करिब ६० वर्षअघि निर्माण भएका पुललाई नभत्काई ती पुलसँगै जोडेर नयाँ पुल बनाउन लागिएको हो ।

बुटवल गोरुसिङ्गे कुल ५० किलोमिटर सडक विस्तारका क्रममा करिब १५ किलोमिटर जङ्गल क्षेत्र पर्ने भएकाले उक्त क्षेत्रमा वन्यजन्तु वारपार गर्न मिल्ने गरी १९ स्थानमा अन्डरपास बनाइने भएको छ ।

आयोजना प्रमुख न्यौपानेले यो सडक खण्डमा गाडी गुडाउन मिल्ने ६ वटा अन्डरपास, पैदलयात्रुका लागि १२ वटा अन्डरपास र ११ वटा ओभरहेड ब्रिज पनि बनाइने बताउनुभयो ।

आयोजनाका अनुसार बजार तथा बस्ती क्षेत्रमा दुवैतर्फ सर्भिस लेनसहितको ६ लेन सडक बन्ने छ भने सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा सडक विस्तार हुनेछ ।

बुटवल नारायणगढ सडक खण्डमा सडक निर्माणका क्रममा सडक किनारका जनताले धुलो र धुवाँबाट सास्ती पाएको अवस्थामा बुटवल गोरुसिङ्गे सडक खण्डमा भने बजार क्षेत्रमा दुवैतिर सर्भिस लेन बनाइसकेपछि मात्रै बिचको भाग भत्काउन सुरु गर्ने योजना रहेको छ । 

राजा महेन्द्रको पालामा वि.सं. २०१९ सालमा बनेको बुटवल गोरूसिङ्गे ५० किलोमिटर सडक खण्ड ६२ वर्षपछि विस्तारको काम हुन लागेको हो ।