• ८ पुस २०८२, मङ्गलबार

पोखराको फोहोर पानी व्यवस्थापन गर्न ११ अर्बको योजना

blog

पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना महानगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्दै जाइकाका प्रतिनिधि। तस्बिरः महानगर प्रमुखको सचिवालय

लेखनाथ, फागुन २७ गते। कास्कीको पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड र एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा यो गुरुयोजना तयार भएको हो। 

११ अर्ब लागत अनुमान गरिएको गुरुयोजना मङ्गलबार जाइकाका प्रतिनिधि काजुहिरो उहिहेराले महानगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभयो। महानगरपालिकाका चार क्षेत्रमा प्रशोधन केन्द्र बनाएर फोहोर पानी प्रशोधनमार्फत पुन प्रयोगका लागि योग्य बनाउने गुरुयोजनामा उल्लेख छ। त्यसरी सफा बनाइएको पानी नदी तथा तालहरूमा छाड्न मिल्ने गुरुयोजनामा उल्लेख छ। 

महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरिने छन्। यी केन्द्रमार्फत् प्रतिदिन एक लाख ३४ हजार घन मिटर पानी प्रशोधन हुनेछ। पानी प्रशोधन क्षेत्रका लागि पाइपलाइन योजना विकास र सबै प्रणालीमा छुट्टाछुट्टै ढलहरू प्रयोग हुने छन्।

दुर्गम भूभागमा पानी सङ्कलनका लागि विभिन्न स्थानमा पम्प स्टेसन र म्यानहोल पम्प जडान गर्ने योजना रहेको नगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। यो परियोजना अनुसार फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।  

दिगो विकासको लक्ष्य भेट्टाउन सन् २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने हुन्छ। यो लक्ष्य भेट्नलाई पनि नयाँ परियोजना पोखराका लागि उचित रहेको प्रमुख आचार्यले बताउनुभयो। “आकासबाट पर्ने, भान्साबाट निस्कने, बाथरुमबाट निस्कने पानी लगायतलाई चार स्थानमा पोइन्टहरु निर्धारण प्रशोधन गरिन्छ,” उहाँले भन्नुभयो, “प्रशोधित पानीलाई फेरि खोला वा तालमा पठाइनेछ।”