गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २८ गते । युरोपियन युनियनले नेपालका ठुला जलाशययुक्त आयोजनामा लगानी गर्न तयार रहेको बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगको शिष्टाचार भेटमा नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले यस्तो बताउनुभएको हो ।
सिंहदरबारस्थित मन्त्रालयमा मङ्गलबार भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको सहयोगका विविध विषयमा छलफल भएको थियो । भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तन र वैकल्पिक ऊर्जाका क्षेत्रमा नेपालको विकासका लागि थप सहकार्य गर्न युरोपियन युनियन प्रतिबद्ध रहेको औँल्याउनुभएको थियो ।
राजदूत लोरेन्जोले नेपालको ऊर्जा क्षेत्रको विकासमा इयुले थप ऋण तथा अनुदान सहायता उपलब्ध गराउने बताउनुभयो । अप्पर अरुण, दुधकोशी जलाशययुक्त आयोजनालगायतमा इयु लगानी गर्न इच्छुक रहेको राजदूत लोरेन्जोको भनाइ थियो । भेटमा इयुको लगानीमा निर्माण भएको चिलिमे–त्रिशूली प्रसारण लाइन उद्घाटन गर्ने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ ।
युरोपियन युनियनले सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालको दिगो विकासका लागि साझेदार निकायका रूपमा सहयोग गर्दै आएको छ । भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा, जलस्रोत र पर्यटन क्षेत्रको विकासका युरोपियन युनियनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले आगामी दिनमा स्वच्छ ऊर्जा, जलवायु परिवर्तन तथा आर्थिक स्थायित्वको क्षेत्रमा सहयोग विस्तारको अपेक्षा राख्नुभयो ।
मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न दातृ निकायको महत्वपूर्ण साथ र सहयोगको आवश्यकता औँल्याउनुभयो ।