• १० मंसिर २०८१, सोमबार

बाङ्गोपनाको चिन्ता

blog

डा. सुबोधकुमार पोखरेल 

लिङ्गमा बाङ्गोपना देखिएको र यसबाट आफू चिन्तित भएको कुरा लिएर थुप्रै व्यक्ति यौन चिकित्सक कहाँ धाउँछन्। लिङ्गको फेदैदेखि लिङ्ग दायाँबायाँ वा मुनितिर ढल्किनु स्वभाविक कुरा हो। उत्तेजित वा कडा नभएको अवस्थामा आफ्नै बोझ थाम्न नसकेर लिङ्ग तलतिर लत्रिन्छ।  व्यक्ति सीधा उभिएको अवस्थामा उत्तेजित लिङ्गमा सामान्यतया बाङ्गोपना हुँदैन। तर सुतेको बेला दायाँ वा बायाँ ढल्किन सक्छ। 

लिङ्ग छाम्दा डाँठमा मासुको डल्लो फेला नपरेको र दुख्ने लक्षण पनि नभएको अवस्थामा यसरी दायाँ वा बायाँ लिङ्ग ढल्किनु स्वभाविक भएको तथ्य बताउँदा पुरुषहरू हत्तपत्त आश्वस्त हुँदैनन् र चिन्ता गरिरहन्छन्। यथार्थमा लिङ्ग बाङ्गो भए जस्तो लागेको अवस्थामा निम्न लिखित अन्य दुई लक्षण थपिँदा मात्र अस्वाभाविक बाङ्गोपना भएको वा रोग लागेको बुझ्नुपर्ने हुन्छ।

१. लिङ्गको डाँठको छालाभित्र छाम्दा मासुको कडा डल्लो भेटिनु।

२. कडा डल्लोको वरिपरि दुख्नु। 

माथि उल्लेखित दुई लक्षणका साथसाथै लिङ्ग हँसिया, खुर्पा वा अर्ध चन्द्रकार रूपमा मध्यभागबाट दायाँ, बायाँ वा माथितिर बाङ्गिएको अवस्थालाई पाइरोनी  रोग (Peyronie Disease) भनिन्छ। यो एउटा रुग्ण अवस्था हो।

यसको कारण

लिङ्गको डाँठभित्र रहेका मांसपेशीका दुई ट्युबमा रहेको महको चाकाजस्तो लचकदार तन्तुमा रगत भरिँदा लिङ्ग कडा हुन्छ।

डाँठको छालाभित्र रहेको खोल जस्तो त्वचाले यी दुई ट्युबजस्ता मांसपेशीलाई  छोपेको हुन्छ। यो खोल लाई Tunica Albuginea  भनिन्छ र यो लचकदार हुँदैन। त्यसकारण निश्चित मात्र भन्दा बढी रगत भरिएपछि ट्युबजस्ता मांसपेशी त्यही खोलको आयतनभन्दा बढी फैलिन नसक्दा लिङ्ग कडा हुन्छ।

ट्युबको लचकदार मांसपेशीको कुनै भागमा बाक्लो, कडा र  तन्किन नसक्ने रेसादार तन्तु जम्मा भएमा त्यो भागमा अरू भाग जस्तो रगत जम्मा हुन सक्दैन। यस्तो भागमा बाहिरबाट छाम्दा मासुको डल्लो जस्तो भेटिन्छ र  पीडादायक हुन्छ। डल्लो भाग वरपरको तन्तु तन्किन नसक्ने र विपरीत भागको लचकदार तन्तु तन्किएर फैलिने हुँदा लिङ्ग बाङ्गो हुन्छ। 

यस्तो किन हुन्छ ?

निम्नलिखित काणले लिङ्गका लचकदार तन्तुमा यस्तो परिवर्तन आउन सक्छ।

क) आनुवंशिक

केहीमा वंशाणुगत कारणले यस्तो तन्तु बन्ने सम्भावना हुन्छ तर यस्तो अवस्था धेरै कम व्यक्तिमा मात्र पाइन्छ।

ख) चोटपटक

कडा लिङ्गको लचकदार तन्तु कहिलेकाहीँ दोब्रिन वा विभिन्न किसिमको चोटपटक वा चापको कारणले भाँचिन सक्छ। लिङ्गमा यथेष्ट कडापन ल्याउन सुईद्वारा प्रयोग गरिने केही औषधिको प्रयोग गर्दा पनि यस्तो चोट लाग्न सक्छ। चोट लागेको ठाउँमा खाटा बस्ने क्रममा कडा रेसादार तन्तु बन्छ र वरिपरि  फैलिन सक्छ। यो सबैभन्दा बढी देखिने कारण हो।

ग) रक्तसञ्चारमा अवरोध

उच्च रक्तचाप, रगत प्रवाह गर्ने नलीको भित्ता कडा भएको अवस्था  -Atherosclerosis_  अथवा नलीभित्र कोलेस्ट्रोल जस्ता तìव बढी जम्मा भएको अवस्थामा रक्त प्रवाह पूर्ण वा आंशिक रूपमा अवरुद्ध भई यस्तो तन्तु बन्न सक्छ।  

घ) मधुमेह

यस्तो तन्तु बन्ने प्रमुख कारणमध्ये मधुमेह पनि एक हो।

कस्तो लक्षण कुन बेला देखिन सक्छ ?

मासुको डल्लो

जुनसुकै उमेरमा हुन सक्ने भए पनि यो अवस्था ४० देखि ६० वर्षको उमेर समूहमा बढी देखिन्छ। हलुका बाङ्गोपना र सामान्य दुख्नेबाहेक अरू केही फरक नपर्नेदेखि सम्भोगका बेला अत्यधिक पीडा, योनीमा प्रवेश गर्नै असमर्थ हुने जस्ता कडा लक्षण यो अवस्थाकै कारणले उत्पन्न हुन सक्छ । साधारणतया मासुको डल्ला विकसित हुन १२ देखि १८ महिनासम्म लाग्छ। 

दुखाई

छालामा मासुको डल्लो भेटिन थाल्नु पहिले नै दुखाई सुरु हुन्छ।

बाङ्गोपन 

मासुको डल्लो एक पटक देखिएपछि ३० देखि ४० प्रतिशत व्यक्तिमा बाङ्गोपना देखिन्छ। जसमध्ये केही समयपछि १० देखि २० प्रतिशतमा यो आफैँ हराउँछ पनि। 

निदान कसरी ?

विगतमा चोटपटक लागेको हुन सक्ने सबै घटनाको सत्यतथ्य र कसरी लक्षणको विकास भएको हो त्यसको यथार्थ जानकारी लिएपछि चिकित्सकले परीक्षण गर्नु पर्दछ। छिटोछिटो बढ्ने मासुको डल्लोबाट तन्तुको सानो टुक्रा निकालेर बायोप्सी गर्नु आवश्यक हुन सक्छ। मासुको डल्लो भएको यकिन स्थान निर्धारण गर्न अल्ट्रासाउन्ड परीक्षण गरिनु पर्छ। कहिलेकाहीँ लिङ्गमा तन्तुको अर्बुद -Cancer_  पनि समान किसिमले विकसित हुन सक्छ। दुवैको फरक छुट्टयाउन आवश्यक परीक्षण गर्नुपर्दछ।

उपचार र निको हुने सम्भावना ?

तल उल्लेखित विभिन्न विधिबाट यो रोगको उपचार गरिन्छ :

१) खाने औषधि 

औषधि सेवनबाट मात्र यसको पूर्ण उपचार हुने सम्भावना न्यून हुन्छ तर दुखाई कम गर्ने र सुजन घटाउने लाक्षणिक औषधिको प्रयोग आवश्यक हुन्छ। तल दिइएका केही औषधि यो रोगमा फाइदाजनक भएको पाइएका छन्।

भिटामिन ई तथा पोटासियम अमिनो बेन्जोएट– ३० देखि ६० प्रतिशत पुरुषमा यी औषधि दुखाई घटाउन प्रभावकारी देखिएका छन् तर बाङ्गोपना र मासुको डल्लो यिनले घटाउन सक्दैनन्।  

टोमोक्सिफेन– यो औषधि ८० प्रतिशत पुरुषमा दुखाई घटाउने र ३० प्रतिशत पुरुषमा मासुको डल्लो र बाङ्गोपना घटाउन प्रभावकारी भएको केही चिकित्सकको दाबी छ।

स्टोराइड सुई– सुईबाट मासु बढेको ठाउँमा स्टोराइड दिने प्रचलन छ। यसले मासुको डल्लालाई सुकाउने दाबी गरिए पनि सफलताको मात्रा न्यून छ।

भेरापामिल सुई– मासुको डल्लोमा सुईबाट भेरापामिल औषधि दिँदा दुखाई र मासुको डल्लो घट्नुका साथै बाङ्गोपना पनि कम हुने केही चिकित्सक को दाबी छ।

विद्युतीय तरङ्ग– शरीरमा बाहिरबाट मासुको डल्लोतर्फ लक्षित गरिएको विद्युतीय तरङ्ग पटक पटक प्रवाह गर्दा मासुको डल्लो घट्ने तर्कअनुसार यो प्रविधिको प्रयोगको सल्लाह दिइए पनि अवाञ्छित प्रभाव हुन सक्ने कारणले यो विधि खासै प्रयोग हुँदैन।

शल्य चिकित्सा– एक वर्षदेखि लगातार लिङ्ग बाङ्गो भएको र पछिल्लो तीन महिनादेखि लक्षण घटबढ नभएको अवस्थामा शल्यक्रिया उपयोगी मानिन्छ। शल्यक्रिया गर्नुअघि रोगको प्रभाव स्थिर भएको र अझै नबढ्ने कुरा निश्चित भएको हुनुपर्छ। अन्यथा रोग फेरि बल्झिन्छ। 

कस्तो अवस्थामा शल्यक्रिया निर्विकल्प हुन्छ ?

सम्भोगका बेला लिङ्ग प्रवेशमा अत्यधिक अप्ठ्यारो हुनु र लिङ्गको बाङ्गोपनाका कारणले पुरुष वा युगल जोडीलाई असहज पीडा हुनुले शल्यक्रिया गर्नैपर्ने अवस्थातर्फ सङ्केत गर्छ। 

यीबाहेक केवल हेर्दा मात्र राम्रो देखाउन शल्यक्रिया गर्न‘ ठीक हुँदैन। शल्यक्रियापछि पनि लिङ्ग शिथिलता विकसित हुन सक्ने, केही दुखाई बाँकी रहने र बल्झिने सम्भावना हुने हुँदा व्यक्तिको स्वास्थ्यका अन्य थप पक्षको अध्ययन गरेर मात्र शल्यक्रिया गर्ने निर्णय लिनु उपयुक्त हुन्छ।