• २४ फागुन २०८२, आइतबार

लगानीसमेत उठेन तोरीको

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन २४ गते । तोरी खेती गर्ने  मोरङका किसानले यस वर्ष लगानी खर्चसमेत उठाउन सकेनन् । कात्तिकको दोस्रो साता बेमौसमी पानी परेपछि किसानले ढिलो गरी तोरी बाली लगाएका थिए । मोरङका रतुवामाई, सुनवर्षी, रङ्गेली नगरपालिका र कानेपोखरी, धनपालथान गाउँपालिकामा तोरीको सघन खेती हुने गरेको छ । कोशी प्रदेश कृषि निर्देशनालयका अनुसार मोरङमा पछिल्ला तीन वर्ष तोरी खेतीमा किसानको आकर्षण बढेको थियो । उत्पादन क्षेत्र र उत्पादकत्वसमेत बढेको मोरङमा आर्थिक वर्ष २०७९/८० मा ११ हजार २०५ हेक्टर क्षेत्रफलमा तोरी खेती भएको थियो । प्रतिहेक्टर १.२० मेट्रिक टन तोरी उत्पादन भएको मोरङमा १३ हजार ४४६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । 

आव २०८०/८१ मा ११ हजार २१४ हेक्टर क्षेत्रफलमा तोरी खेती भयो । उत्पादकत्व प्रतिहेक्टर १.३० पुगेर कुल १४ हजार ५७८ मेट्रिक टन तोरी उत्पादन भयो । अघिल्लो आवमा पनि उत्पादन क्षेत्र १० हेक्टरले बढेर ११ हजार २२४ पुग्यो । अघिल्लो आवमा उत्पादकत्व १.३१ पुग्यो भने उत्पादन १४ हजार ७०४ मेट्रिक टन पुग्यो । किसानले गहुँ र दलहन बालीभन्दा तोरी बालीमा राम्रो आम्दानी गर्न थालेपछि तिनै तहका सरकारले मोरङमा तोरी खेती गर्ने किसानलक्षित अनुदानका कार्यक्रम ल्याएका थिए तर यस वर्ष किसानले तोरी उखेल्नै पाएनन् । कात्तिक दोस्रो सातासम्म परेको पानीले खेत सुक्नै पाएन । जसले गर्दा बाली लगाउन ढिलो भयो । मोरङको कानेपोखरी–६ का किसान भरतकुमार बरालले भन्नुभयो, “बिउ पनि जोगाउन सकिएन । १२ कट्ठामा औसत १२ मन तोरी उत्पादन हुन्थ्यो । यस वर्ष उखेल्नै परेन ।” बरालले आफ्नो तोरी खेती देखाउँदै भन्नुभयो । १२ कट्ठा तोरी खेती गर्दा बरालले मल, बिउ जोताइ गर्दा छ हजार पाँच सय रुपियाँ खर्च भएको थियो । 

बराल मात्र होइन । कानेपाखेरी–३ का जर्मन मुर्मूले पनि तोरी खेतीमा ठुलो घाटा बेहोर्नु प¥यो । मुर्मूले १५ कट्ठामा तोरी लगाउनुभएको थियो । गत वर्ष १६ मन तोरी उत्पादन गरेर प्रतिमन पाँच हजार पाँच सय रुपियाँका दरले खेतबाटै बिक्री गर्नुभएका मुर्मूले यस वर्ष पाँच मन तोरी तुल्याउनुभयो । गहिरो खेत थियो, पानी सुकेको थिएन । पर्खिंदापर्खिंदै मङ्सिर दोस्रो सातापछि मात्र तोरी छर्न पाइयो । उहाँले यो वर्ष साहुलाई अधियाँ तिर्दा लगानी नै नउठेको बताउनुभयो । 

केही वर्षदेखि सहरका मानिस तोरी नपाक्दै किसानका खेत खेतमा गएर तोरीको बन्दोबस्त मिलाउँथे । यस वर्ष  कानेपोखरी–३ का हेमचन्द्र भण्डारीले २५ मन तोरी अग्रिम दिने भन्नुभएको थियो तर बिउ नै नबच्ने उहाँको भनाइ छ । भण्डारीले भन्नुभयो, “छर्न ढिलो भयो, पुसमा दाना नपस्दै हुस्सुले खायो ।” दुई बिघामा तोरी लगाउनुभएका भण्डारीले यो वर्ष तोरी खेतीबाट ४० हजार रुपियाँ घाटा बेहोर्नु परेको बताउनुभयो ।