गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २४ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिनुभएको छ । विगत आठ दिनदेखि जारी युद्ध लम्बिँदै गएसँगै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
राष्ट्रपति ट्रम्पले आत्मसमर्पण नगरे इरानले अकल्पनीय विनाशको सामना गर्नुपर्ने प्रस्ट पार्नुभएको अमेरिकी सञ्चार संस्था सिएनएनले जनाएको छ । यता इरानका राष्ट्रपति मसुद पेजेस्किनले कहिल्यै पनि इरानले आत्मसर्मण नगर्ने घोषणा गर्नुभएको छ । उहाँले टेलिभिजन सम्बोधनमा अमेरिकासामु नझुक्ने अडान दोहो¥याउनुभयो । राष्ट्रपति पेजेस्किनले छिमेकी खाडी राष्ट्रमा गरिएको आक्रमणप्रति भने क्षमायाचना गर्नुभएको छ ।
अमेरिका–इजरायल र इरानबिच चर्किएको युद्ध फैलिँदै जाँदा पश्चिम एसिया क्षेत्रभरि सैन्य गतिविधि तीव्र बनेको छ । लेबनान, सिरिया र इराकसम्म विस्फोट, क्षेप्यास्त्र प्रहार, ड्रोन आक्रमण र सैन्य कारबाहीका खबर आइरहेका छन् भने विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा पनि यसको प्रभाव देखिन थालेको छ । शनिबार दुबई र बहराइनका राजधानीमा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारले जनाएका छन् । यसैबिच अमेरिकी विदेश मन्त्रालयले इजरायललाई १२ हजार बम क्यासिङ बिक्री गर्न ‘आपत्कालीन’ स्वीकृति दिएको छ । विदेश मन्त्रालयको राजनीतिक–सैन्य मामिला ब्युरोका अनुसार प्रस्तावित बिक्रीले इजरायलको रक्षा क्षमता सुदृढ बनाउने, वर्तमान र भविष्यका खतरा सामना गर्न सहयोग गर्ने तथा क्षेत्रीय खतराविरुद्ध निवारकका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।
इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणपछि इजरायली सेनाले देशभरि हवाई आक्रमणको चेतावनी जारी गरेको जनाएको छ । इरानले आफ्नो सर्वोच्च नेता आयातोल्लाहा अली खामेनीको हत्या र देशभरका लक्ष्यमा गरिएको अमेरिका–इजरायलको संयुक्त सैन्य कारबाहीको बदला लिन इजरायलमाथि लगातार आक्रमण गरिरहेको छ ।
लेबनान र सिरियामा तनाव
यसै क्रममा लेबनान र सिरिया सीमामा पनि तनाव चर्किएको छ । लेबनानी सरकारी मिडियाका अनुसार इजरायलले उक्त क्षेत्रमा अवतरण कारबाहीको प्रयास गर्दा झडप भएको थियो । तेहरान समर्थित हेजबुल्लाहले आफ्ना लडाकु त्यस झडपमा संलग्न रहेको जनाएको छ । खामेनीको हत्याको बदला भन्दै हेजबुल्लाहले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले लेबनानमा थप सेना पठाएको छ ।
ब्यालेस्टिक क्षेप्यास्त्र अवरोध
खाडी क्षेत्रमा पनि आक्रमणको प्रयास जारी रहेको छ । साउदी अरेबियाको रक्षा मन्त्रालयले अमेरिकी सैन्य कर्मचारी बसोबास गर्ने एक हवाई अड्डातर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र अवरोध गरिएको जनाएको छ । राज्य समाचार एजेन्सीका अनुसार यसअघि पूर्वी क्षेत्रमा रहेको रासतनुरा रिफाइनरी लक्षित गरी गरिएको ड्रोन आक्रमणपछि इमिराती सीमासँगैको तेल क्षेत्रमा गरिएको अर्को ड्रोन आक्रमण पनि विफल पारिएको थियो । इरानको राजधानी तेहरानमा पनि शनिबार ठुलो विस्फोट भएको राज्यद्वारा सञ्चालित इरानी सञ्चार माध्यमले जनाएको छ । त्यसपछि इजरायली सेनाले तेहरानका लक्ष्यमा ‘व्यापक स्तरका आक्रमण’ सुरु गरिएको पुष्टि गरेको छ ।
हतियार उत्पादन बढाउने
युद्ध चर्किँदै जाँदा अमेरिकाले हतियार उत्पादन बढाउने घोषणा पनि गरेको छ । ट्रम्पका अनुसार प्रमुख अमेरिकी रक्षा कम्पनीले उन्नत हतियारको उत्पादन चार गुणासम्म बढाउन सहमति जनाएका छन् । अमेरिकी सेनाका अनुसार द्वन्द्व सुरु भएको पहिलो सातामै तीन हजारभन्दा बढी लक्ष्यमा प्रहार गरिएको छ ।
युद्धको असर विश्व अर्थतन्त्रमा
युद्धको असर विश्व अर्थतन्त्रमा पनि देखिन थालेको छ । खाडी क्षेत्रमा तेल आपूर्ति अवरुद्ध हुने आशङ्काले कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य १२ प्रतिशतले बढेर प्रतिब्यारेल ९०.९२ डलर पुगेको छ । यो साप्ताहिक रूपमा ठुलो वृद्धि मानिएको छ ।
धेरै शान्ति सैनिक घाइते
दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाको आधार क्षेत्रमा भएको आक्रमणमा घानाका धेरै शान्ति सैनिक घाइते भएका छन् । आक्रमण कसले गरेको भन्ने स्पष्ट छैन । त्यस क्षेत्रमा इजरायल र हेजबुल्लाहबिच लगातार लडाइँ भइरहेको छ ।
फ्रान्सले सैन्य उपस्थिति बढायो
उता फ्रान्सले पनि भूमध्यसागर क्षेत्रमा सैन्य उपस्थिति बढाएको छ । फ्रान्सेली सेनाका अनुसार हेलिकोप्टर बोक्ने जहाज त्यहाँ तैनाथ गरिएको छ । पेरिसले यसअघि नै आफ्नो मुख्य एयरक्राफ्ट क्यारियर र फ्रिगेटहरू पनि त्यसतर्फ पठाउने निर्णय गरेको जनाएको छ । इरानबाट मिसाइल र ड्रोन आक्रमणको प्रयास भएपछि साउदी अरेबियाले तेहरानलाई ‘गलत गणना’ नगर्न चेतावनी दिएको छ ।