• २४ फागुन २०८२, आइतबार

लगानीको वातावरण नहुँदा कर्जा प्रवाह सुस्त

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २४ गते । बैङ्क तथा वित्तीय संस्थामा निक्षेप बढ्दै गए पनि कर्जा प्रवाह भने अपेक्षा अनुसार विस्तार हुन नसकेको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको अर्धवार्षिक समष्टिगत आर्थिक प्रतिवेदन ‘समष्टिगत आर्थिक प्रतिवेदन–२०२६’ अनुसार बैङ्किङ प्रणालीमा तरलता प्रशस्त भए पनि लगानीको वातावरण कमजोर हुँदा निजी क्षेत्रतर्फ कर्जा प्रवाह सुस्त देखिएको छ ।

अर्थतन्त्रमा तरलता पर्याप्त भए पनि लगानीको माग कमजोर हुँदा वित्तीय मध्यस्थताको प्रभावकारिता घटेको विश्लेषण प्रतिवेदनले गरेको छ । बैङ्किङ प्रणालीमा रेमिट्यान्सको निरन्तर वृद्धि, विदेशी मुद्रा सञ्चिति बढ्नु तथा तरलता प्रवाह बढ्दै जाँदा निक्षेप वृद्धि कायम रहेको प्रतिवेदनमा उल्लेख छ । 

तरलता बढेसँगै बैङ्कहरूले निक्षेप र कर्जाको ब्याजदर पनि घटाएको प्रतिवेदनमा उल्लेख  छ । व्यावसायिक बैङ्कहरूको निक्षेप दर तीन प्रतिशतभन्दा तल नझरे पनि ऋणको ब्याजदर विगतको तुलनामा ऐतिहासिक रूपमा न्यून स्तरमा पुगेको प्रतिवेदनले जनाएको छ ।

कोरोना महामारीपछि मौद्रिक नीतिमा गरिएको सहुलियतका कारण प्रारम्भिक चरणमा कर्जा तीव्र गतिमा बढेको भन्दै प्रतिवेदनले पछि कडाइका कारण त्यसको गति घटेको विश्लेषण गरेको छ ।

त्यसपछि पनि सहज मौद्रिक नीति लागु भए पनि कर्जा माग अपेक्षित रूपमा बढ्न नसकेको प्रतिवेदनमा छ । यस्तै लगानी वातावरण कमजोर हुनु, निजी क्षेत्रको आत्मविश्वास घट्नु तथा राजनीतिक अस्थिरता जस्ता कारणले कर्जा विस्तार प्रभावित भएको प्रतिवेदनले औँल्याएको छ ।

क्षेत्रगत रूपमा हेर्दा यातायात, सञ्चार, सेवा क्षेत्र तथा उपभोग कर्जा बढ्दो देखिएको छ तर कृषि क्षेत्रतर्फ कर्जा विस्तार निकै न्यून रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै नेपालमा अझै पनि जग्गा तथा भवन धितोमा आधारित कर्जा सबैभन्दा बढी रहेको तथा  कुल कर्जामध्ये करिब दुईतिहाइ कर्जा घरजग्गा धितोमा आधारित रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैङ्कले आगामी महिनामा कर्जा विस्तार केही बढ्ने अनुमान गरेको छ तर यसको गति राजनीतिक स्थिरता, सरकारी खर्च वृद्धि र निजी क्षेत्रको लगानी वातावरणमा सुधारमा निर्भर रहने प्रतिवेदनमा उल्लेख छ ।

अर्थतन्त्रमा ब्याजदर न्यून र तरलता पर्याप्त रहेकाले आगामी दिनमा सार्वजनिक खर्च बढ्ने, आयात तथा निजी लगानी विस्तार हुने र त्यसले कर्जा मागलाई बढाउने अपेक्षा प्रतिवेदनमार्फत गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ को छ महिना बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ५.७ प्रतिशत अर्थात् चार खर्ब १७ अर्ब ४८ करोडले वृद्धि भई ७६ खर्ब ८१ अर्ब ३५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.७ प्रतिशत अर्थात् दुई खर्ब ३९ अर्ब छ करोड रुपियाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.९ प्रतिशत, ४१.३ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.६ प्रतिशत रहेको थियो । वार्षिक विन्दुगत आधारमा गत पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।