कबिराज घिमिरे
हिले, फागुन २४ गते । धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी हुनुभएको छ । शनिबार राति सम्पन्न भएको मतगणनामा १८ हजार १३२ मतसहित राई विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गर्नुभयो । यस्तै श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मतसहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का दिनेश भण्डारीले नौ हजार ९४४ मतसहित चौथो स्थानमा रहनुभयो ।
धनकुटाबाट यो निर्वाचनमा विभिन्न १४ दल र तीन स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मैदानमा हुनुन्थ्यो । कुल एक लाख १८ हजार ४२५ मतदाता रहेको धनकुटामा यो निर्वाचनमा ५४.४५ प्रतिशत अर्थात् ५४ हजार ४९० मत खसेको थियो । विजयी उम्मेदवार राईको यो चौथो संसदीय प्रतिस्पर्धामा तेस्रो जित हो । राइले २०७० को संविधानसभा निर्वाचनमा हार बेहोरे पनि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत बिजयी हुनुभएको थियो । यसपटक पनि जित निकाल्दै उहाँले ह्याट्रिक गर्नुभएको जय । उहाँ दुई पटक मन्त्री समेत बनिसक्नु भएको छ ।