• ८ वैशाख २०८१, शनिबार

राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन

भीआइपीलाई सहज, नागरिकलाई सास्ती

blog

काठमाडौं, साउन १६ गते । पुरानो गृह मन्त्रालय परिसर सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग परिसरमा एक जना अपाङ्गता भएका नागरिक ह्वील चियरमा पसिना काढ्दै पुग्नुभयो । श्रीमतीका लागि राष्ट्रिय परिचयपत्र बनाउन परिसरसम्म पुग्न उहाँलाई निकै सास्ती खेप्नुपर्‍यो । प्रवेश गर्ने दक्षिणको मूल गेटदेखि सोध्दै–खोज्दै विभाग परिसर पुग्न उहाँलाई आधा घण्टाभन्दा बढी समय खर्चिनुपर्‍यो । परिचयपत्रका लागि विवरण दर्ता गर्ने स्टेशनसम्म पुग्ने कुनै सङ्केत र साइनबोर्ड नदेख्दा आफूले सास्ती खेप्नुपरेको उहाँले गुनासो गर्नुभयो ।  


नुवाकोट स्थायी घर भएका एक जना अस्थायी शिक्षक अर्जुन खत्री तीन दिनदेखि सिंहदरबार धाइरहनुभएको छ । “सिंहदरबारमा लामो लाइन हुँदैन भनेर आएको, उल्टै तनाव र सास्ती भोग्नुपर्‍यो” उहाँले भन्नुभयो । अनलाइन फाराम दर्ता गर्नुभएका खत्रीको फाराममा स्टेशनको नाम उल्लेख नभएपछि उहाँले सो सास्ती खेप्नुपरेको हो । “प्रिन्ट गरेको अनलाइन फाराम गेटको हवल्दारलाई दिएँ, स्टेशन र मिति खुलाएर आउनुस् भनेर फाराम नै फालिदिनुभयो, मुस्किलले सिंहदरबार प्रवेश गेटपास मिलाएर भित्र छिरेको थिएँ, फेरि बाहिर फाराम सच्याउन जाँदा प्रवेशको समस्या, नजाउँ यता फाराम नै रिजेक्ट भइसक्यो” उहाँले गुनासो सुनाउनुभयो ।

पाँचखाल काभ्रेबाट सिंहदरवार विभाग परिसर पुग्नुभएका सैनिक जवान रेखा रानाको गुनासो पनि कम छैन । तीन दिन भयो लाइन लागेको नाम बोलाउँदैन, के भएको होला ? उहाँले जिज्ञासा गर्नुभयो । “पहिलो दिन लाइन बस्दा पनि फाराम बुझ्ने काम भएन, दोस्रो दिन बिहान ८ बजेदेखि लाइन बसेपछि मुस्किलले फाराम बुझाएँ, तर पालो आएन । तेस्रो दिन आज पालो आउला भनेको छ त्यही भएर भोकै भए पनि लाइनमा बसेकी छु” उहाँले भन्नुभयो, “तीन दिन अघिदेखि फाराम बुझाएकाको पनि पालो आएन भन्ने गुनासो सुन्दा आज पनि धेरै आश लागेको छैन ।”


माथिका यी तीन जनाको दुःखजस्तै अन्य धेरै सेवाग्राहीले त्यस्तै सास्ती र कष्ट सहनुपरेको गुनासो गर्नुभएको छ । कर्मचारीका लागि मात्र भनेर विभागमा राष्ट्रिय परिचयपत्र फाराम दर्ताका लागि दुई वटा स्टेशन शुरु गरिएको छ । तर त्यहाँ कर्मचारीभन्दा बढी सर्वसाधारण नागरिक लाइन बस्न पुग्ने गर्नुभएको छ । ‘अरु ठाउँमा लामो लाइन बस्नुभन्दा सिंहदरबारमा प्रवेश पास मिलाउन सके छिटो हुन्छ’ भन्दै नागरिकहरु त्यहाँ पुग्नेगरेको बताएका छन् । दुई स्टेशनमध्ये एउटा भीआइपीका लागि छुट्याइएको छ, अर्को सामान्य कर्मचारी र नागरिकका लागि व्यवस्था मिलाइएको छ ।

दर्ताका लागि फाराम संकलनार्थ स्टेशनमा खटिनुभएका प्रहरी हवलदार विनोद थापाले सेवाग्राहीलाई सक्दो सुलभ सेवा दिने लक्ष्य लिइए पनि सेवाग्राहीको व्यवहार र प्रस्तुतीले झर्को लाग्नेगरेको बताउनुभयो । दर्ता स्टेशनको नामै उल्लेख नगरी दिइएको मितिभन्दा अगावै दर्ता गर्न आउनेले बढी पीडा दिनेगरेको गुनासो उहाँको छ । दर्ता गर्न आउने मिति र स्टेशन अरु नै ठाउँको छ, आजै काम हुनुप¥यो भनेर हुन्छ ? उहाँले भन्नुभयो । सम्झाउँदा पनि नसम्झिने सेवाग्राहीसँग कहिलेकाहीँ चर्काचर्की हुनेगरेको उहाँले स्वीकार्नुभयो । 


अर्का सेवाग्राही भीम राई हवलदार थापा र विभागका कर्मचारीको व्यवहारबाट आजीत भएको बताउनुभयो । नबुझेको कुरा सोध्दा पनि झर्किने, सही सूचना नदिने कर्मचारीको व्यवहार ठीक नरहेको उहाँले बताउनुभयो । “कि परिसरमै सबै सूचनासहितको बोर्ड राख्नुप¥यो कि सोधेको जिज्ञासाको उत्तर सही र शालीन तरिकाले दिनुपर्यो” उहाँले भन्नुभयो, “सूचना केही राखिएको छैन, सोधपुछ गर्दा कर्मचारी झर्किन्छन्, सिंहदरबारभित्र पनि यस्तो समस्या छ ।”

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालले विभागमा दुई वटा मात्र दर्ता स्टेशन भएकाले सीमित कोटा रहेको बताउनुभयो । दिनमा सयदेखि डेढसय जनाको मात्र दर्ता गर्नसक्ने क्षमता भएकाले सेवाग्राहीको सेवा सुलभ र प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ । “सेवाग्राहीलाई उत्कृष्ट सेवा दिने हाम्रो पनि चाहना हो, तर विभाग परिसरमा सेवा विस्तार गर्न सकिएको छैन, दिनमा बढीमा डेढसय जनाको मात्र फाराम दर्ता हुनेगरेको छ ।”


कर्मचारीको सहुलियतका लागि विभाग परिसरमा दर्ता स्टेशन शुरु गरिए पनि कर्मचारीका श्रीमती, परिवारका सदस्य तथा आफन्तसम्मलाई सो सेवा प्रदान गरिदैआएको उहाँले प्रष्ट पार्नुभयो । स्टेशनमा सर्वसाधारणको भीड बढी लाग्न थालेपछि बचेको समयमा केही सर्वसाधारणको पनि फाराम लिने काम भएको उहाँले बताउनुभयो । सीमित स्रोत साधनले काम चलाउनुपरेकाले विभाग परिसरमा नोटिस बोर्ड नराखिएको उहाँले स्वीकार्नुभयो । यसअघि सूचना टाँस गरिए पनि भीड बढ्न थालेपछि हटाइएको हो उहाँले भन्नुभयो ।  

दुई स्टेशनमध्ये एक स्टेशनमा भीआइपीका लागि सेवा शुरु गरिएको उहाँले बताउनुभयो । ढकालका अनुसार सहसचिवभन्दा माथिका कर्मचारी, सांसद, पूर्व सांसद, मन्त्री तथा मन्त्रीका परिवारका सदस्य, मन्त्री तथा उच्च पदस्थ कर्मचारीले आदेश गरेको व्यक्तिका लागि छुट्टै दर्ता गर्ने स्टेशनको व्यवस्था मिलाइएको छ । त्यहाँ अन्य सामान्य कर्मचारी तथा सर्वसाधारणको फाराम दर्ता गरिँदैन ।  

देशभर गरी अहिले ११ जिल्लाबाट फाराम संकलन तथा अनलाइन दर्ता जहाँबाट पनि भर्न सकिने व्यवस्था विभागले मिलाएको छ । सोअनुसार मासिक ५ लाखको फर्म दर्ता भइरहेको विभागको भनाइ छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा दर्ता स्टेशन राखी दर्ताको काम भइरहेको सूचना अधिकारी ढकालले बताउनुभयो । 

विभागका निर्देशक लक्ष्मण ढकाल

उहाँका अनुसार काठमाडौंको जिल्ला प्रशासन कार्यालय, नारायणहिटी, सिंहदरबार विभाग परिसरमा स्टेशन राखी दर्ता प्रक्रिया भइरहेको छ । त्यस्तै, सुनसरी, मोरङ, सप्तरी, रुपन्देही, मुस्ताङ, ललितपुर, बर्दिया, कपिलवस्तु, काठमाडौं, दोलखा, गोरखा, बागलुङ र बुधबारदेखि दार्चुलामा पनि सेवा शुरु गरिनेछ । राष्ट्रिय परिचयपत्र आगामी असोजदेखि वितरण प्रक्रिया शुरु गरिने निर्देशक ढकालले बताउनुभयो । अहिलेसम्म करिब २० लाख थान परिचयपत्र छपाइको काम सकिएको उहाँको भनाइ छ । 

के के चाहिन्छ कागजात

विवाहितको हकमा नागरिकताको सक्कल प्रति, विवाह दर्ता वा श्रीमान श्रीमतीको परिचय खुल्ने अन्य सरकारी कागजात चाहिन्छ । बसाइँसराइ गरेकोलाई सोको सक्कल प्रमाणपत्र, नागरिकतामा जन्ममिति नखुलेकाहरुको हकमा जन्ममिति खुलेको अन्य सरकारी कागजात, अविवाहितको हकमा नागरिकता प्रमाणपत्र भए पुग्छ । 

के हो राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । व्यक्तिको परिचय प्रमाणीकरणको डिजिटल समाधान पनि हो । डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने गरी बनाइएको छ । 

नागरिकहरुले यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्नु भनेको राष्ट्रिय समावेशीकरणलाई टेवा पु¥याउनु हो । सरकारको २०६७–०३–१६ को निर्णयानुसार गृह मन्त्रालय अन्तर्गत विभागस्तरको केन्द्रीय निकायको रुपमा मिति २०६७–०४–०१ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको हो । २०७५–०६–२८ मा उक्त केन्द्र र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको केन्द्रीय पञ्जीकरण विभागलाई एकीकृत गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग स्थापना भएको हो । सो विभागले परिचयपत्र वितरणको कामलाई व्यवस्थित बनाउने गरी काम गरिरहेको छ । 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।