• ८ वैशाख २०८१, शनिबार

थामिँदै पराकम्पन, बढ्दै भूकम्प

blog

काठमाडौँ, साउन १६ गते । पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार आइतबार बिहान ८ः१३ बजे खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि करिब दुई वर्षअघि सोलुखुम्बु केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता चार रेक्टर स्केल आसपासका भूकम्प र पराकम्पन बारम्बार गइरहेका थिए । खोटाङमा गएको भूकम्पका कारण ठूलो क्षति नभएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चारवटा पक्की घर भूकम्पको धक्काका कारण सामान्य रूपमा चर्किएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो । 

नयाँ भूकम्प जाने क्रम बढ्यो

पछिल्लो समय पराकम्पनभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । त्यो भूकम्प १९९० सालपछिको हालसम्मकै ठूलो भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ । 

वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार कुनै क्षेत्रमा भूकम्प गइसकेपछि आउने जाने त्योभन्दा साना धक्का पराकम्पन हुन्छन् तर त्यही क्षेत्रमा अघिल्लोभन्दा ठूलो धक्का आएमा त्यो फेरि भूकम्प मानिन्छ । पराकम्पनको क्रम तीन÷चार वर्षसम्म चल्न सक्छ । त्यसपछि भने फेरि भूकम्प आउन सक्छ ।

२०७२ यता गोरखा भूकम्पका पराकम्पन धक्का बढी गइरहेका थिए । पछिल्लो समय भने पराकम्पनको लहर घट्दै नयाँ भूकम्पका धक्का बढी जान थालेको पाइएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभयो । 

वरिष्ठ भूकम्पविद् अधिकारीले भन्नुभयो, “ठूला म्याग्निच्युडका वास्तविक भूकम्प गएपछि त्यसको पराकम्पन केही समयसम्म आउने–जाने क्रम चल्छ, सँगै नयाँ भूकम्प पनि गइरहन्छ ।” उहाँका अनुसार नेपालको भौगोलिक अवस्थामा पहाड र हिमाल बढिरहेकाले भूकम्पको जोखिम उच्च छ । नेपालको पश्चिमी भेगमा भूकम्प जाने सम्भावना तीव्र रहेको अनुमान गरिँदै गर्दा पूर्वी भेगमा आइतबार ठूलो भूकम्प गएको उहाँले बताउनुभयो । 

यो वर्ष सुरु भएयता १३ वटा भूकम्पमध्ये चारवटा पराकम्पन रहेको केन्द्रले जनाएको छ । बाँकी नौवटा नयाँ भूकम्प हुन् । जसमा वैशाख ६ गते बझाङ र २१ गते जुम्लामा ४.१–४.१ रेक्टर स्केलका दुईवटा नयाँ भूकम्प गए । जेठमा गएका चारवटा भूकम्पमध्ये ताप्लेजुङमा ९ गते एकै दिन चार रेक्टर आसपासका दुईवटा भूकम्प गएका थिए । त्यस्तै जेठकै २४ गते बैतडीमा चार रेक्टर स्केलको नयाँ भूकम्प गयो भने जेठ २७ गतेचाहिँ भक्तपुर केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको पराकम्पन गएको थियो । 

असारमा पनि चारवटा भूकम्प गए । जसमध्ये असार ९ गते गोरखामा ४.१ रेक्टर स्केलको एउटा पराकम्प थियो । सोही दिन कास्कीमा भने ४.९ रेक्टर स्केलको नयाँ भूकम्प गएको थियो । असार १८ गते दोलखामा ४.१ पराकम्पन र २६ गते दार्चुलामा ४.२ रेक्टर स्केलको नयाँ भूकम्प गएको थियो । 

साउनका पन्ध्र दिनभित्र तीनवटा भूकम्प महसुस गरिए । जसमा सिन्धुपाल्चोकमा साउन ९ गते ४.७ रेक्टर स्केलको पराकम्पनको धक्का महसुस गरिएको थियो । त्यसअघि साउन २ गते बाजुरामा ४.१ रेक्टर स्केलको नयाँ भूकम्प गएको थियो । साउन १५ गते भने खोटाङमा पछिल्लो समयकै ठूलो भूकम्प गएको हो । 

२०७२ सालयता नेपालमा नयाँ भूकम्प र पराकम्पसहित ५८० वटा भूकम्पका धक्का महसुस गरिएको केन्द्रले उल्लेखमा जनाएको छ ।