• १० मंसिर २०८१, सोमबार

उपत्यकामा बाजाले गुञ्जायमान हुने पर्व

blog

काठमाडौँ, साउन १३ गते ।  उपत्यकाका नेवार समुदायले चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिना गुँला पर्व शुक्रबारदेखि सुरु हुने भएको छ। नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ। नेपाल संवत्अनुसार दसौँ महिनालाई गुँला भनिन्छ। गुँको अर्थ गुण गर्ने, अरूको उपकार गर्ने कामलाई जनाउने संस्कृतिविद् डा.चुण्डा बज्राचार्यले जानकारी दिनुभयो। 

उहाँले गुँला पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको बताउँदै विशेषगरी बौद्धमार्गीको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका बताउनुभयो। गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन्।

“गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो,” डा.बज्राचार्यले भन्नुभयो, “यो बाजा राँगा वा अर्नाको सिङबाट निर्माण गरिएको हुन्छ।” पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ। जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवीदेवताको समेत परिक्रमा गर्ने उहाँले प्रस्ट पार्नुभयो। “यस पर्वका अवसरमा सक्नेले दसशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ , पञ्चशील सबैले सधैँ पालना गर्न‘पर्छ भन्ने नियम छ,” बज्राचार्यले भन्नुभयो। पञ्चशीलमा प्राणी हिंसा नगर्ने, झुटो कुरा नगर्ने, लागूपदार्थ एवं मद्यपान नगर्ने, व्यभिचार नगर्ने र चोरी नगर्ने पर्छन्।


यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ। यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गर्छ। राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ। वर्षभर निधन भएका व्यक्तिको नामबाट बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन्।  

किलागलस्थित राजेन्द्र डङ्गोलले धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको सुनाउनुहुन्छ। झरीले रोगव्याधीलगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उहाँको अनुभव छ। यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजाआराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ। 

ठमेलमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका प्रदर्शन गरिने गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध तथा बुद्धका अन्य सामग्री प्रदर्शन गरिन्छ। यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ। ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका अर्थात् एक लाख श्लोक रहेको प्रज्ञापारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ। गुरुजुबाट यसको पाठसमेत हुन्छ। यो महायान सम्प्रदायका मानिसको ठूलो ग्रन्थ हो। गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजाआराधना गरी एक महिने व्रत समापन गरिन्छ। यो पर्वका अवसरमा महिनाभर बौद्ध चैत्य, बिहार, गुम्बा, स्तूपलगायत धार्मिक स्थलमा बाजागाजासहित घुम्ने भक्तजनको भीड लाग्छ। यस अवसरमा काठमाडौँ उपत्यका विभिन्नथरी बाजाले गुञ्जायमान हुने गर्छ।