• ४ साउन २०८१, शुक्रबार

सीमा नाकामा रोजगारीका लागि भारत जाने युवाको लर्को

blog

कामका लागि भारत जाने नेपाली युवाहरु नाका पार गर्दै । तस्विर: सिराज खान

नेपालगञ्ज, साउन १२ गते । नेपाली युवाहरु भारतमा रोजगारीका लागि जानेको सिमा नाकाहरुमा लर्को लाग्न थालेको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका दैनिक रुपमा एक हजार भन्दा बढी युवा नाका हुँदै रोजगारीका लागि भारततर्फ जाने गरेको जमुनाह नाका स्थित प्रहरीको तथ्याङ्क छ । 

इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख वरिष्ठ सई माधव रिजालले केही दिन यता आएर फेरी दैनिक भारत जाने नेपालीको लर्को लाग्ने गरेको बताउनुभयो । उहाँले अहिले दैनिक एक हजार दुई सयदेखि एक हजार तीन सयसम्म नेपाली युवा कामका लागि भारततर्फ गैरहेको जानकारी दिनुभयो । 

अहिले नेपालमा काम नभएको र भारतको सिमला लगायतका ठाउँमा स्याउ पाकेकोले स्याउ टिप्न र ओसार पसार गर्न धेरै नेपाली युवा सो तर्फ जाने गरेको प्रहरीको भनाइ छ । भारत जान हुल बाँधेर नाकामा पुगेका अधिकांश नेपालीले हिमाञ्चल प्रदेशको सिमला जान लागेको बताउने गरेको रिजालले बताउनुभयो । उहाँका अनुसार अहिले भारत जानेमा अधिकांश २० वर्षको सेरोफेरोकै युवा छन् । 

भारत हिँडेका जाजरकोट पाँचकाटियाका रमेशबहादुर सिंहले स्वदेशमा कुनै काम नै नपाइएपछि बाध्य भएर फेरी भारत जान थालेको बताउनुभयो । उहाँले नेपालमा बढीभन्दा बढी रोजगारी सृजना नगरिएसम्म कालापहाड जानैपर्ने बाध्यता बाँकी रहने बताउनुभयो । 

यस्तै सल्यान थारमारेका गणेश विकले आफ्नो देशमा काम नपाएपछि भारत जानुको विकल्प नहुँदा गैरहेको गुनासो गर्नुभयो । सोही प्रकारको दुःखेसो भारत छिर्न नाकामा पुगेका अधिकांश युवाको छ । 

Author

सिराज खान