• १४ वैशाख २०८१, शुक्रबार

लक्ष्यभन्दा बढी आन्तरिक राजस्व सङ्कलन

blog

काठमाडौँ, साउन १२ गते ।  आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा राजस्वको लक्ष्य पूरा गरेको छ । 

विभागले असार मसान्तका लागि तोकेको लक्ष्यभन्दा एक अर्ब रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो । विभागका अनुसार उक्त महिना ७२ अर्ब ९६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । विभागले असारमा ७१ अर्ब ७४ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । 

असारमा उठेको राजस्व वर्षभरको लक्ष्यको तुलनामा १३.५६ प्रतिशत हुन आउँछ । आर्थिक वर्षको अन्तिम महिना भएकाले पनि यो महिना सबैभन्दा धेरै राजस्व उठ्ने गर्छ । 

विभागका अनुसार असारमा आयकर र मूल्य अभिवृद्धि करबाहेक अन्य शीर्षकको लक्ष्य पूरा भएको छ । असारमा ४९ अर्ब ३३ करोड रुपियाँ आयकर सङ्कलन गर्ने लक्ष्य रहेकामा ४६ अर्ब ९९ करोड रुपियाँ सङ्कलन भएको विभागले जनाएको छ । यो असारका लागि तोकिएको आयकरको लक्ष्यको तुलनामा ९५.२७ प्रतिशत हुन आउँछ । त्यस्तै असारमा विभागले १५ अर्ब १० करोड रुपियाँ मूल्य अभिवृद्धि कर उठाएको छ । यो पनि तोकिएको लक्ष्यभन्दा कम हो । विभागले असारमा १५ अर्ब ३५ करोड रुपियाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य राखेको थियो ।

यी दुई शीर्षकबाहेक विभागको क्षेत्राधिकारभित्रका अन्य सबै शीर्षकका कर लक्ष्यभन्दा बढी नै उठेको छ । विभागका अनुसार असारमा मात्रै ६४ करोड ४१ लाख रुपियाँ घरभाडा कर उठेको छ । जब कि विभागले ४६ करोड ७९ लाख रुपियाँ घरभाडा कर असारमा उठाउने लक्ष्य राखेको थियो । असारमा ६८ करोड १४ लाख रुपियाँ ब्याजकर उठाउने लक्ष्य राखेको विभागले करिब दोब्बर अर्थात् एक अर्ब ३४ करोड रुपियाँ ब्याजकर उठाएको छ ।

असारमा आन्तरिकतर्फको अन्तःशुल्क पनि लक्ष्यभन्दा बढी नै उठेको छ । पाँच अर्ब ६१ करोड रुपियाँ अन्तःशुल्क उठाउने लक्ष्यमा विभागले आठ अर्ब २० करोड रुपियाँ उठाएको छ । त्यस्तै स्वास्थ्य सेवातर्फ समीक्षा अवधिमा विभागले ४६ करोड ८१ लाख रुपियाँ कर उठाएको छ । जब कि विभागले उक्त महिना २३ करोड ७५ लाख रुपियाँ स्वास्थ्य सेवा कर उठाउने लक्ष्य राखेको थियो । 

विभागले असारमा शिक्षा कर पनि लक्ष्यभन्दा अधिक नै उठाएको छ । पाँच करोड ५५ लाख रुपियाँ शिक्षा कर उठाउने लक्ष्य रहेकामा विभागले १९ करोड छ लाख रुपियाँ कर सङ्कलन गरेको छ ।