• १२ चैत २०८२, बिहिबार

कलाकारमार्फत तनहुँका पर्यटकीय क्षेत्रको प्रचार

blog

ढोर वाराही मन्दिरको अवलोकन गर्दै कलाकार नविना सिलवाल खुइली । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत १२ गते ।
तनहुँको शुक्लागण्डकीमा जारी पाँचौ शुक्लागण्डकी महोत्सवलाई स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवरधन गर्ने माध्यम बनाइएको छ । महोत्सवमा प्रस्तुतीका लागि आएका राष्ट्रिय कलाकारहरूलाई स्थानीय पर्यटकीय स्थलको भ्रमण गराएर प्रचारप्रसार सुरु गरिएको हो ।

बुधबार चर्चित कलाकार नविना सिलवाल ‘खुईली’ ले प्रसिद्ध धार्मिक स्थल शुक्लागण्डकी नगरपालिकास्थित ढोरबाराही मन्दिर र भिमाद नगरपालिका स्थित रक गार्डेनको अवलोकन गर्नुभयो । मन्दिरको दर्शनपछि उहाँले यहाँको अलौकिक शक्ति र लहरी (पानी घटबढ हुने प्रक्रिया) बारे सुन्दै आएकोमा प्रत्यक्ष देख्न पाउँदा खुसी व्यक्त गर्नुभयो । रक गार्डेनका अनौठा प्राकृतिक आकृतिले लोभ्याएको बताउँदै उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत यस क्षेत्रको प्रचार गरेको बताउनुभयो ।

महोत्सव कलाकार व्यवस्थापन उपसमितिका संयोजक प्रेम श्रेष्ठका अनुसार महोत्सवमा आउने कलाकारहरूलाई विभिन्न पर्यटकीय स्थल पु¥याउने नीति लिइएको छ । “हामीले महोत्सवको नारा नै पर्यटन प्रवद्र्धन राखेका छौँ, सोही अनुरूप कलाकारलाई यहाँका सम्पदा चिनाउन सुरु गरेका हौँ’’ उहाँले भन्नुभयो ।

महोत्सव मूल संयोजक एवम् शुक्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले महोत्सवले समग्र नगरको व्यावसायिक र पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  प्रवक्ता सुजन श्रेष्ठका अनुसार महोत्सवमा पालिकास्तरीय भलिबल, रत्यौली, कौरा नृत्य र टिकटक प्रतियोगिता समेत समावेश गरिएको छ । महोत्सवमा कृषि, घरेलु उद्योग र सूचना केन्द्रसहित १७५ वटा स्टल रहेका छन् । महोत्सव विभिन्न जनजातिका परम्परागत घरहरु निर्माण गरिएका छन् ।