दाङ समाचारदाता
दाङ, चैत १२ गते । दाङमा सुविधासम्पन्न थिएटर बन्ने भएपछि स्थानीय कला, संस्कृतिको संरक्षण र प्रवर्धनमा थप टेवा पुग्ने भएको छ । स्थानीय कला, संस्कृति तथा सिर्जनशीलताको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित दाङको घोराहीमा सामुदायिक कलाघर ‘पहल थिएटर’ निर्माण हुने भएको छ ।
घोराही उपमहानगरपालिका–१५, दीपशिखा रोडस्थित करिब तीन कट्ठा जग्गामा निर्माण सुरु हुन लागेको थिएटरमा अत्याधुनिक मञ्च निर्माण, व्यवस्थित दर्शकदीर्घा, ध्वनि तथा प्रकाश प्रणाली जडान, अभ्यास कक्ष, पुस्तकालय, सङ्गीत विद्यालय, कला सङ्ग्रहालय, पोडकास्ट स्टुडियोलगायतका पूर्वाधार विकास गरिने छ । “पहल थिएटर केवल एउटा भवन होइन, यो हाम्रो साझा सपना, पहिचान र सांस्कृतिक भविष्यको आधार हो,” संयोजक केएल बुढाथोकीले भन्नुभयो, “हामी सबैको साझा प्रयास र योगदानले यसको निर्माण सम्भव छ ।”
पहल थिएटरले स्थानीय कलाकारलाई आफ्नो कला प्रस्तुत गर्ने स्थायी मञ्च उपलब्ध गराउनुका साथै नयाँ पुस्तालाई नाटक, सङ्गीत, चलचित्र तथा विविध सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्ने अपेक्षा गरिएको छ । भविष्यमा यसलाई सामुदायिक चलचित्र घर, सांस्कृतिक अध्ययन केन्द्र, कला प्रशिक्षण स्थल तथा बहुउद्देश्यीय सांस्कृतिकपरिसरका रूपमा विस्तार गर्ने योजनासमेत रहेको संयोजक बुढाथोकीले बताउनुभयो ।