• ७ जेठ २०८१, सोमबार

अध्यक्ष ओली गृह जिल्ला झापामा

blog

भद्रपुर एयरपोर्टमा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्विर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, साउन ११ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली स्थानीय तह निर्वाचनको समीक्षाका लागि गृहजिल्ला झापा आइपुग्नुभएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारी बिषयमा छलफल गर्न उहाँ गृह जिल्ला आउनुभएको सो दलका नेताले बताउनुभएको छ । 

झापा आउनुभएका ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई बुधबार यहाँ सम्बोधन गर्नुभयो । राजनीतिक, सामाजिक, आर्थिक लगायतका परिवर्तनलाई संस्थागत गर्दै ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’ को सपना साकार पार्ने अभियान पूरा गरेर छाड्ने बताउनुभयो । 

आगामी निर्वाचनमा गठबन्धनलाई हराएर एमालेलाई पहिलो शक्ति बनाउने गरी सक्रिय हुन उहाँले पार्टी पङ्तिलाई निर्देशन दिनुभयो । आफ्नो स्वार्थभन्दा माथि उठेर सामुहिक स्वार्थका लागि लाग्न पनि उहाँले आह्वान गर्नुभयो । एमालेको मुख्य एजेण्डा मूलकको विकास र सम्बृद्धि भएको उहाँले बताउनुभयो । ब्यक्तिगत स्वार्थ त्यागेर पार्टीका एजेण्डा लिएर आम जनमानसमा जान आवश्यक छ, उहाँले भन्नुभयो । 

स्थानीय तह चुनावमा पार्टीभित्र अन्तर्घात भएको भन्दै अध्यक्ष ओलीले सो बिषयलाई आफूले गम्भिरताका साथ नियालिरहेको बताउनुभयो । लगातर ३ दिनसम्म आफ्नो निर्वाचन क्षेत्रसहित जिल्लाभरिका नेता र कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेको एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताउनुभयो । 

झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य समेत रहनु भएका ओलीले विहीबार र शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुनुहुने कार्कीले जानकारी दिनुभयो ।