• ३ साउन २०८१, बिहिबार

कैलाश मानसरोवर सडकमा पहिरो खस्दा नेपाली मजदुरको मृत्यु

blog

भारतको धारचुलास्थित कैलाश मानसरोवर सडकखण्डमा खसेको पहिरोमा परी मृत्यु भएका नेपाली । तस्बिर सौजन्यः राजेश पंगरिया

बैतडी, साउन ११ गते । भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको कैलाश मानसरोवर सडकखण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् । 

मङ्गलबार अपरान्ह ४ बजे कैलाश मानसरोवर सडकखण्डको धारचुलास्थित लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर पहिरो खस्दा सडकमा काम गरिरहेका डडेल्धुराका ४५ वर्षीय नरबहादुर रोकाको मृत्यु भएको हो । घटनामा परी ३८ वर्षीय पदमसिंह कुँवर गम्भीर घाइते भएका छन् । कुँवरको धारचुला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

भारतको पिथौरागढ जिल्लाबाट करिब १५० किलो मिटर दूरीमा धारचुला हुँदै भारतले कैलाश मानसरोबर सडक निर्माण गरिरहेको छ । गर्ग एण्ड गर्ग कम्पनीले सडक चौडा गरेर कालोपत्रे गर्ने काम गरिरहेको छ । कम्पनीले नेपाली मजदुरलाई काममा लगाएर सडक कालोपत्रे गर्दै आइरहेको भारतीय सञ्चारकर्मी राजेश पंगरियाले जानकारी दिनुभयो । 

पहिरोमा परी मृत्यु भएका नरबहादुर रोकाको शव पोष्टमार्टमका लागि धारचुला सामुदायिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे  थप बुझ्ने काम भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी पन्थीले भन्नुभयो,“ मृतक र घाइतेका विषयमा कुन कम्पनीले के कसरी काममा लगाएको हो भन्ने विषयमा बुझ्ने काम भइरहेको छ । अन्तर्राष्ट्रिय सीमा बैठकमा नेपाली कामदारको बीमाका विषयमा पनि छलफल गर्ने छौँ।”

भारतमा काम गर्ने मजदुरको छैन बीमा 

रोजगारीका लागि भारतको पिथौरोगढ जिल्ला जाने हजारौं नेपाली मजदुर सडक र भवन निर्माणमा सलग्न भए पनि नेपाली मजदुरको बीमा नहुँदा समस्या हुने गरेको छ । यसअघि पनि सडक निर्माणको क्रममा पहिरोमा चार जना नेपालीले ज्यान गुमाएका थिए ।

रोजगारीका लागि भारत जाने नेपाली झुलाघाट सीमा नाकामा समेत कुनै तथ्याङ्क छैन । स्थानीय तहमा रोजगार शाखा भए पनि रोजगारीका लागि भारत जानेहरुको स्थानीय तहसँग न तथ्याङ्क छ न त बीमा नै हुने गरेको छ । 

अक्सफाम नेपाल र रुडेस बैतडीको पहलमा दुई वर्ष अघि बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाले भारतमा काम गर्ने मजदुरको बीमा गर्ने कार्यक्रम  ल्याए पनि उक्त कार्यक्रमले जिल्लाका सबै स्थानीय तह समेट्न सकेको छैन । 

खुला सीमा नाकाका कारण रोजगारीका लागि भारत जानेको सङ्ख्या अधिक हुने भएकाले स्थानीय सरकारले सकेसम्म पालिकामै रोजगारी सिर्जना गर्ने र भारतमा काम गर्न जानेको अनिवार्य बीमा गर्ने कार्यक्रम ल्याउनुपर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो ।

Author

गोकर्ण दयाल