• ८ वैशाख २०८१, शनिबार

कोरोनाविरुद्धको डेढ लाख खोप खेर गएकाे अनुमान

blog

काठमाडौं, साउन १० गते । कोरोनाविरुद्धको करिब डेढ लाख खोप खेर गरेको अनुमान गरिएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले कोरोनाविरुद्धको कोभिसिल्डको करिब डेढ लाख खोप खेर गएको अनुमान गर्नुभयो ।उहाँका अनुसार जुलाई २३ तारिखसम्म मात्रै कोभिसिल्डको खोपको म्याद रहेको थियो ।

उहाँले भन्नुभयो,“कोभिसिल्ड खोपको मिति जुलाई २३ तारिखसम्म थियो । कति खोप खेर गयो ? भनेर यकिन तथ्याङ्क शाखासँग छैन तर केन्द्र, प्रदेश र स्थानीय तहमा गरेर करिब डेढ लाख खोप खेर गएको अनुमान छ, साेबारे तथ्याङ्क जम्मा हुँदैछ।”

१२ वर्ष देखि १७ वर्षसम्मका किशोर र किशोरीलाई लगाउने फाइजर बायोएनटेक खोपको पनि ४ महिनापछि म्याद सकिँदैछ ।

उहाँले भन्नुभयो, “१२ वर्ष देखि १७ वर्षसम्मका किशोर र किशोरीलाई लगाउने फाइजर बायोएनटेक खोपको ४ महिना सम्मको म्याद रहेको छ । हाल उक्त उमेर समूहलाई सरकारले फाइजर बायोएनटेकको बुस्टर डोज दिइरहेको छ ।चार करोड ८८ लाख मात्र खोप लगाइयो ।

आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार सरकारले खरिद र अनुदान गरेर पाँच करोड ८८ लाख ९१ हजार ९७० मात्रा खोप प्राप्त गरेको छ । जसमध्ये एक करोड ८३ लाख ८७ हजार ६ सय मात्रा खोप खरिद मार्फत र कोभ्याक्स र अनुदानबाट चार करोड पाँच लाख चार हजार ३७० मात्रा खोप प्राप्त गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म चार करोड ८८ लाख ६० हजार ७३७ मात्रा खोप लगाइसकेको बताउनुभयो ।

कोरोना नियन्त्रण गर्ने उद्देश्यले सरकारले पहिलो पटक २०७७ साल माघ १४ गतेबाट खोप लगाउन सुरु गरेको थियो । यो अवधिमा दुई करोड ११ लाख ३५ हजार ७६ जनाले एक मात्रा र दुई करोड पाँच लाख ३५ हजार ८३८ मात्रा खोप लगाएका छन् । त्यसैगरी, सरकारले ७१ लाख ९० हजार २३७ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

२०७८ साल माघ २ गतेबाट अतिरिक्त मात्रा खोप लगाउन सुरु गरेको थियो । सरकारले कुल जनसङ्ख्याको ७२.४ प्रतिशत अर्थात दुई करोड ११ लाख ३५ हजार ७६ जनाले पहिलो मात्रा र ७०.३ प्रतिशत अर्थात दुई करोड ५३ लाख पाँच हजार ८३८ मात्रा खोप लगाइसकेको छ ।


त्यसैगरी, सरकारले १२ वर्ष माथिका दुई करोड ३३ लाख २७ हजार ६१९ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । जसमध्ये ९०.६ प्रतिशत अर्थात् दुई करोड ११ लाख ३५ हजार ७६ जनाले पहिलो मात्रा र ८८ प्रतिशत अर्थात् दुई करोड पाँच लाख ३५ हजार ८३८ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।

प्रदेश अनुसार कतिले लगाए खोप ?

प्रदेश १ मा ८९ प्रतिशतले पहिलो मात्रा, ८५ प्रतिशतले पूर्ण मात्रा र ३८ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् । त्यस्तै, मधेश प्रदेशमा ८४ प्रतिशतले पहिलो मात्रा, ८३ प्रतिशतले पूर्ण मात्रा र १९ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

बागमती प्रदेशमा सत् प्रतिशतले पहिलो मात्रा, ९६ पूर्ण मात्रा र २८ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् । त्यसैगरी, गण्डकी प्रदेशमा ९४ प्रतिशतले पहिलो मात्रा, एक सय पूर्ण मात्रा र ३८ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् ।


लुम्बिनी प्रदेशमा प्रदेशमा ९३ प्रतिशतले पहिलो मात्रा, ९१ पूर्ण मात्रा र ३८ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् । कर्णाली प्रदेशमा ७८ प्रतिशतमा पहिलो मात्रा, ७४ प्रतिशतले पूर्ण मात्रा र २९ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् । र, सूदूरपश्चिम प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा, ७९ पूर्ण मात्रा र ३२ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

माैज्दात खोप कति छ ?

आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार साउन ८ गतेसम्म देशभरका विभिन्न कोल्ड चेनमा ५७ लाख सात हजार ६७६ मात्रा खोप मौज्दात रहेको छ । जसमध्ये भेरोसेल ४३ लाख ७२ हजार ८०४, जोन्सस एण्ड जोन्सन खोप २१ हजार नौ सय, १२ देखि १७ वर्ष उमेर समूहलाई लगाउने फाइजरको खोप छ लाख २७ हजार ४२, बच्चालाई लगाउने फाइजरको खोप छ लाख ५८ हजार ९३० मात्रा खोप मौज्जाद छ ।

सरकारले ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउने अभियान सुरु गरेको छ । पहिलो चरणमा ७ जिल्लाका २१ लाख ५३ हजार २७४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । उक्त खोप अभियान असार ९ गतेबाट सरकारले २७ जिल्लामा दोस्रो मात्रा खोप दिइरहेको छ ।

त्यसैगरी, दोस्रो चरणमा ५० जिल्लाका १६ लाख ३९ हजार १२४ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । उक्त खोप अभियान भदौ २७ गतेबाट सुरु हुनेछ । खोपले सङ्क्रमण भए पनि जटिलता र मृत्युदर कम गर्ने डा. समिर अधिकारी बताउनुहुन्छ । सरकारले दोस्रो खोप लगाएको तीन महिना पुगेका १२ वर्ष माथिका सबैलाई बुस्टर डोज लिइरहेकाले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पनि आग्रह गर्दै आएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।