• ३ साउन २०८१, बिहिबार

हिल्याउन पानी नपुग्दा रोपाइँ प्रभावित

blog

ढल्केबर समाचारदाता

ढल्केबर, साउन १० गते । मधेश प्रदेशको जिल्लामा खेत हिल्याउने पानीको अभावमा धान रोपाइँ प्रभावित भएको छ । खेत हिल्याउन चाहिने वर्षाको पानी तथा सिँचाइको पर्याप्त व्यवस्थापन नहुँदा धान रोपाइँ प्रभावित भएको हो । 

वर्षा नहुँदा डिप ट्यूबेल, स्यालो ट्युबवेल र कुलोलगायत वैकल्पिक रूपमा पानीको व्यवस्था गरेर किसान धान रोपाइँमा जुटेका छन् । मौसम पूर्वानुमान शाखाले साउनको पहिलो साता देशभर तीन दिनसम्म मध्यम वर्षा हुने बताएपछि हर्षित देखिएका किसान अहिले वर्षा नभएपछि पुनः चिन्तित बनेका छन् । 

मधेश प्रदेशको बारादेखि पूर्वको सप्तरीसम्म अनुमान मुताविक वर्षा भएन । असार दोस्रो सातादेखि वर्षा हुन छोडेपछि जेनतेन रोपिएका धानको बिरुवा सुक्न थालेका छन् भने रोप्न तयारी अवस्थामा राखिएको धानको बिरुवा ब्याडमै छिप्पिन थालेको छ । 

मधेश प्रदेशमा अहिलेसम्म करिब ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको छ । समयमा वर्षा नहुँदा बाँकीको धान खेत अझै बाँझो रहेको मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत मनिषकुमार पालले जानकारी दिनुभयो ।

मधेश प्रदेशमा दुई तिहाईभन्दा बढी धान खेती आकाशे पानीको भरमा गरिन्छ । मधेश प्रदेशमा कुल पाँच लाख ५५ हजार २१८ हेक्टर खेती योग्य जग्गा छ । जसमध्ये चार लाख पाँच हजार ३५० हेक्टर जमिनमा धान खेती गरिन्छ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा खेती योग्य जमिनमध्ये सिँचाइ गुरु योजनाअनुसार प्रदेशको कुल सतह सिँचाइ आयोजना र डिप ट्युबवेल तथा स्यालो ट्युुबेलबाट गरी कुल चार लाख १४ हजार ७५६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको दाबी गरिएको छ । 

कृषि विज्ञ ललनकुमार सिंहले वर्षाको प्रवल सम्भावना रहेकाले आत्तिनुपर्ने अवस्था नहरेको बताउनुभयो । “असार महिनाभित्रै धान रोपाइँ गर्न सकियो भने अति उत्तम नभए साउनको अन्तिम सातासम्म रोपाइँ गर्न सकिन्छ तर साउनभन्दा असार महिनाभित्रै रोपिएको धान बढी उत्पादन हुन्छ,” उहाँले भन्नुभयो ।  

यस्तै सिँचाइका लागि कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा मात्र सिँचाइको व्यवस्था पुगेको छ तर लामो समयदेखि वर्षा रोकिएर कमला नदीमा पानीको सतह कम भएका कारण किसानलाई सिँचाइ गर्न समस्या भइरहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।