• १९ असार २०८१, बुधबार

प्रयोगमा आएनन् घुम्ती शौचालय, शौच गर्न होटलमा खानैपर्ने

blog

यादवराज पुरी

रौतहट, साउन १० गते । जिल्लाको चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुरले खरिद गरेको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा रहेका छन्। सार्वजनिक स्थानमा शौचालयको आवश्यकता पूर्ति गर्न खरिद भएको यो घुम्ती शौचालय अहिले प्रयोगविहीन रहँदा यात्री र बटुवालाई शौचको समस्या देखिएको छ। 

पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर खण्डमा सार्वजनिक शौचालय नभएपछि समस्या समाधान गर्न खरिद गरिएको घुम्ती शौचालयको मर्मत सम्भार नहुँदा दुई वर्षदेखि प्रयोगमा नआएका हुन् । पालिकाले तीन वर्षअघि करिब १५ लाख रुपियाँमा दुईवटा घुम्ती शौचालय खरिद गरेको थियो। अहिले दुवै घुम्ती शौचालय प्रयोगमा छैनन्। एउटा शौचालय चन्द्रपुर नगरपालिका–६ स्थित कार्यालय अगाडि थन्किएको छ भने अर्को चन्द्रपुर–६ मै रहेको शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा प्रयोगविहीन अवस्थामा रहेको छ। 

सामान्य मर्मत गर्दा प्रयोगमा आउने अवस्थाका दुवै शौचालय मर्मत सम्भार बिना अलपत्र छन्। पछिल्लो समयमा खेलका विभिन्न प्रतियोगितामा सहभागी हुने खेलाडीलाई लक्षित गरी खेल मैदानमा राखिएको शौचालय लथालिङ्ग अवस्थामा थन्किएको छ। रेखदेख नभएपछि उक्त शौचालयको पछाडिका दुवै पाङ्ग्रा चोरीएका छन्। 

पूर्व–पश्चिम राजमार्गमा चल्ने अधिकांश सवारीसाधन रोकिने मुख्य चोकमध्ये चन्द्रनिगाहपुर चोक पनि एक हो। यहाँ दैनिक सयौँ सवारी रोकिने गर्छ। बसका यात्रीदेखि सवारी धनी र चालकको खाना खाने स्थलका रूपमा परिचित छ चन्द्रनिगाहपुर तर सार्वजनिक शौचालय नभएको कारण होटलमा खाना नखाने, चिया नास्ता नगर्ने यात्रु शौच गर्नकै लागि बाध्य भएर होटलमा चिया, नास्ता र खाना खान छिर्नुपर्ने अवस्था छ। 

“चन्द्रनिगाहपुर चोकमा सार्वजनिक शौचालय नहुँदा बसका यात्रुले समस्या भोग्दै आएका छन्,” रौतहट बस व्यवसायी सङ्घका अध्यक्ष रामाशङ्कर गिरीले भन्नुभयो, “शौच गर्नकै लागि बाध्य भई होटलमा चिया, नास्ता वा खाना खानुपर्ने अवस्था छ यात्रुको।”

जिल्लाको मुख्य व्यापारिक केन्द्रसमेत रहेको चन्द्रनिगाहपुर बजारमा सार्वजनिक शौचालय नहुँदा व्यापारी तथा उपभोक्तासमेत शौचको लागि समस्यामा पर्ने गरेका छन्। चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिलकुमार साहले घुम्ती शौचालय मर्मत गरी यथाशीघ्र सञ्चालनमा ल्याउन चन्द्रपुर नगरपालिकालाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार तीन वर्षअघि रौतहट जिल्लालाई नै खुला दिसामुक्त क्षेत्र घोषणा गरेको थियो तर चन्द्रपुर नगरपालिकामा एउटा पनि सार्वजनिक शौचालय नहुनु लज्जास्पद विषय बनेको छ। 

नगरपालिका प्रमुख सञ्जय काफ्लेले अघिल्लो नगरप्रमुखको पालादेखि नै प्रयोगमा नआएको घुम्ती शौचालय साँघुरोसमेत रहेकोले त्यसलाई फराकिलो र सहज बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले स्थानीय डोम समुदायलाई वर्षको ३० हजार रुपियाँमा ठेक्का लगाएको पाइयो तर त्यसको समय÷समयमा मर्मत सम्भार र सरसफाइ नहुँदा प्रयोगकर्ता घटेपछि ठेक्का सकार गर्नेले नै ताला लगाएर बन्द गरेका छन्।