• ६ जेठ २०८१, आइतबार

नगरभित्रकै सामुदायिक विद्यालय अस्तव्यस्त

blog

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट सामुदायिक विद्यालयको आकस्मिक निरीक्षणको क्रममा । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन ९ गते । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा सोमबार विहान १० बजेतिर नगरभित्र सञ्चालित महेन्द्र माध्यामिक विद्यालयमा आकस्मिक निरीक्षणमा पुग्नुभयो । निरीक्षण टोलीले हाजिर रजिष्टर हेर्दा आठ जना मात्रै शिक्षक उस्थित हुनुहुन्थ्यो ।   

सो विद्यालयमा १८ जना शिक्षक कार्यरत रहेकोमा आधाभन्दा बढी शिक्षक अनुपस्थित पाइएको शिक्षा शाखा प्रमुख थापाले जानकारी दिनुभयो । नगर प्रमुख विष्ट र शिक्षा शाखा प्रमुखलगत्तै नगरभित्रकै अर्को सामुदायिक विद्यालय मङ्गलप्रसाद माध्यमिक विद्यालयमा पुग्दा महेन्द्र माविकोभन्दा अस्तब्यस्त अवस्था देख्यो । 

सो विद्यालयमा सरकारी कोषबाट तलब पाउने २१ सहित ५३ जना शिक्षक कार्यरत रहेकोमा नगर प्रमुख र शिक्षा शाखा प्रमुख पुग्दा १०.३० बजेसम्म ४ जना शिक्षकको मात्रै उपस्थिति थियो । निरीक्षण टोलीलाई कतिपय शिक्षकले भने समयमै उपस्थित भएपनि हाजिर गर्न छुटेको प्रष्टिकरण दिनुभयो ।  

सोमबार आकस्मिक निरीक्षणमा पुग्दा विभिन्न विद्यालयमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको पाइएको छ नगर प्रमुख विष्टले भन्नुभयो, “आफुखुशी बिदामा बसेको, हाजिर नगरेको लगायतका कमजोरी भेटिएका कारण शिक्षा शाखालाई कारवाहीका लागि तत्कालै निर्देशन दिइएको छ ।”

मंगलप्रसाद मावि र महेन्द्र माविको तुलनामा राम्रो देखिएपछि नेपालगञ्ज कन्या माध्यमिक विद्यालयमा निरीक्षण टोलीले धन्यवाद दिएर फर्केको छ । कन्या माविमा १३ जना शिक्षक कार्यरत रहेकोमा एकजना स्वीकृत विदामा बसेको र अन्य सबै उपस्थित भएको पाइएको, नियमित पठनपाठन भएको पाइएको शिक्षा शाखा प्रमुख थापाले जानकारी दिनुभयो । 

शिक्षक कर्मचारी समयमै उपस्थित भएको, विद्यालयको चौरमा सुनसान देखिएको, शिक्षकले नियमित कक्षा सञ्चालन गरेको पाइए पछि कन्या माविलाई निरीक्षण टोली धन्यवाद दिएर फर्केको हो । 

आकस्मिक निरीक्षणपछि नगर प्रमुख विष्टले विद्यालयमा अनुपस्थित शिक्षक तथा कर्मचारीलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउन शिक्षा शाखा प्रमुख थापालाई निर्देशन दिनुभयो । शिक्षा शाखा प्रमुख थापाले नगर प्रमुखको निर्देशन अनुसार अनुपस्थित शिक्षकलाई आवश्यक कारवाहीका लागि तत्कालै स्पष्टीकरण सोध्ने जानकारी दिनुभयो । सामुदायिक विद्यालयको सुधारका लागि यसखालका अनूगमन तथा निरीक्षण नियमित हुने प्रमुख विष्टले बताउनुभयो ।