सन् १९५५ फेब्रुअरी । अमेरिकाको अलाबामाबाट कोलम्बियाको कार्टाजेनातर्फ गइरहेको एउटा जङ्गी जहाजको चालकदलका आठ सदस्य समुद्री आँधीका कारण क्यारिबियन सागरमा खसे । खबर पाउनासाथ खोजी तथा उद्धार कार्य थालियो । चार दिनसम्म पनि फेला पार्न नसकिएपछि खोजी तथा उद्धार कार्य रोकियो । चालकदलका सदस्यहरूको मृत्यु भएको घोषणा गरियो । त्यसको एक हप्तापछि चालकदलका सदस्यहरूमध्ये एक लुइस अलेजान्ड्रो भेलास्कोलाई उत्तरी कोलम्बियाको सुनसान समुद्री तटमा अर्धमृत अवस्थामा रहेको पाइयो ।
त्यतिबेला गाब्रियल गार्सिया मार्केज (सन् १९२७–२०१४) कोलम्बियाली अखबार ‘एल एस्पेक्टाडोर’ को स्टाफ रिपोर्टर हुनुहुन्थ्यो । मार्केजले फिचर लेख्न २० दिनसम्म भेलास्कोसँग कुराकानी गर्नुभयो । त्यही कुराकानीबाट प्राप्त जानकारीका आधारमा तयार पारिएको भेलास्कोको कथाव्यथा ‘दुर्घटनाग्रस्त जहाजका नाविकको कथा’ स्पेनी भाषाको अखबार ‘एल एस्पेक्टाडोर’ मा १४ शृङ्खलामा छापियो । त्यसलाई कृतिका रूपमा तयार गरी सन् १९७० मा छापियो । कृतिलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी सन् १९८६ मा ‘दी स्टोरी अफ अ सिपरेक्ड सेलर’ शीर्षकमा छापियो । ‘एल एस्पेक्टाडोर’ मा छापिएका सामग्रीकै पत्रकारितागत पुनर्लेखन थियो ‘दी स्टोरी अफ अ सिपरेक्ड सेलर’ । उक्त कृति साहित्यिक पत्रकारिता विधाका कृतिमा दर्ज भएको पाइन्छ ।
पत्रकार तथा सन् १९८२ को नोबेल साहित्य पुरस्कार विजेता मार्केजका ‘न्युज अफ अ किड्नेपिङ’ र ‘क्रोनिकल अफ अ डेथ फ¥टोल्ड’ शीर्षकका कृति पनि साहित्यिक पत्रकारिता विधामा दर्ज छन् । उहाँले आफ्नै मातापिताको प्रणय सम्बन्धमा आधारित कृति ‘लभ इन दी टाइम अफ कलेरा’ पनि लेख्नुभयो तर उक्त कृतिलाई साहित्यिक पत्रकारिताको सूचीमा समावेश गरिएन । कुनै पनि कृति साहित्यिक पत्रकारितामा दर्ज हुन केही निश्चित विधान÷सर्तहरूको पालना गरिएकै हुनु पर्छ । एउटै लेखकका सबै कृतिमा साहित्यिक पत्रकारिताका विशेषता नहुन सक्छन् ।
ट्रुमन क्यापोट (सन् १९२४–१९८४) मूलतः उपन्यासकार, पटकथा लेखक, नाटककार, अभिनेता र समाजसेवी हुनुहुन्थ्यो । सन् १९५९ नोभेम्बरमा ‘दी न्युयोर्क टाइम्स’ मा ‘वेल्थी फार्मर, थ्री अफ फ्यामिली, स्लेन’ शीर्षकमा समाचार छापियो । त्यो समाचार अमेरिकाको कन्सास राज्यको होल्कम्बमा रहेको धनी किसान परिवारका तीन सदस्यको हत्यासँग सम्बन्धित थियो । समाचारबाट उहाँ निकै उद्विग्न हुनुभयो ।
समाचार प्रकाशनको दुई हप्तापछि नै क्यापोट कन्सासतर्फ लाग्नुभयो । घटनास्थलको प्रत्यक्ष अवलोकन गर्नुभयो । सरोकारवालासँग कुराकानी गर्नुभयो । आधिकारिक दस्ताबेजहरूको अध्ययन गर्नुभयो । सम्बन्धित व्यक्तिहरूसँग भेटघाट गर्न र आवश्यक जानकारी बटुलबाटुल पार्न उहाँले छ वर्ष खर्चिनुभयो ।
निरन्तरको माथापच्चिसीपछि सन् १९६५ मा क्यापोटको मेहनतले ‘इन कोल्ड ब्लड ः अ ट्र्यु अकाउन्ट अफ अ मल्टिपल मर्डर एन्ड इट्स कन्सिक्वेन्सेस’ शीर्षकमा उपन्यासको रूप लियो । ‘दी न्यु योर्कर’ म्यागेजिनमा चार शृङ्खलामा उक्त उपन्यास छापियो । सन् १९६६ मा उक्त उपन्यास पुस्तकका रूपमा पनि छापियो ।
क्यापोट मूल रूपमा पत्रकार हुनुहुन्नथ्यो तर पत्रकारिताप्रति उहाँमा लगाव थियो । साहित्यिक पत्रकारिता विधाको कृतिमा उहाँको ‘इन कोल्ड ब्लड’ पनि दर्ज भएको छ । साहित्यिक पत्रकारिता रचना/कृतिको सिर्जनाका लागि पेसेवर पत्रकार नै हुनु पर्छ भन्ने छैन । पत्रकारिताको जगमा टेकेर, पत्रकारिताका मूलभूत सिद्धान्तहरूको पालना गर्दै सिर्जना गरिएको गैरआख्यान उपन्यास पनि साहित्यिक पत्रकारिता विधाको कृतिमा दर्ज हुन सक्छ भन्ने प्रमाण बन्यो, ‘इन कोल्ड ब्लड’ ।
अमेरिकी राजनीतिक इतिहासमा सन् १९७२ को वाटरगेट काण्ड निकै चर्चित रह्यो । त्यसको खुलासामा मुख्यतः त्यसबेला ‘वासिङ्टन पोस्ट’ का रिपोर्टरहरू कार्ल बर्नस्टाइन र बब वुडवर्डले महŒवपूर्ण भूमिका निर्वाह गरे । सन् १९७२ जुन १७ मा ‘वाटरगेट कम्प्लेक्स’ मा रहेको डेमोक्रेटिक नेसनल कांग्रेसको कार्यालयबाट पाँच जना ‘चोर’ समातिए । अनुसन्धानपछि ती सामान्य चोर नभएर राजनीतिक विपक्षीको सूचना चोरी गर्न र ‘स्याबोटाज’ गर्न लगाइएका व्यक्तिहरू भएको खुलासा भयो । उक्त कार्यमा अमेरिकाका ३७ औँ राष्ट्रपति रिचार्ड एम. निक्सन (सन् १९१३–१९९४) का प्रशासनिक कर्मचारीहरू संलग्न भएको पाइयो ।
सन् १९६८ मा रिपब्लिकन दलका उम्मेदवार बनी राष्ट्रपतिमा निर्वाचित निक्सन सन् १९७२ मा दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति निर्वाचित हुनुभएको थियो । वाटरगेट काण्डको खुलासापछि उहाँविरुद्ध महाभियोगको प्रव्रिmया सुरु भयो । अन्ततः उहाँ सन् १९७४ मा सो पदबाट राजीनामा दिन बाध्य हुनुभयो । उक्त वाटरगेट काण्डकै वृत्तान्त थियो, कार्ल बर्नस्टाइन र बब वुडवार्डको सन् १९७४ मा प्रकाशित कृति ‘अल दी प्रेजिडेन्ट्स मेन’ । यो कृतिलाई अमेरिकी इतिहासकै अत्यन्त लोकप्रिय र प्रभावशाली पुस्तक पनि मानियो ।
प्रकाशन वर्ष १९७४ मा उक्त पुस्तक ‘बेस्ट सेलर’ को सूचीमा दोस्रो नम्बरमा रह्यो । तथ्यपूर्ण र विस्तृत रूपमा रहेको उक्त कृति ‘खोजी पत्रकारिता’ को त राम्रो पुस्तक भयो तर त्यसलाई साहित्यिक पत्रकारिता विधाका कृतिमा दर्ज गरिएन । अर्थात्, जसरी विशुद्ध साहित्यिक कृति साहित्यिक पत्रकारितामा दर्ज हुन सक्दैन, त्यसै गरी विशुद्ध पत्रकारिताको कृति साहित्यिक पत्रकारितामा दर्ज हुन सक्दैन । यसमा साहित्य तत्वको अभाव रह्यो । यथार्थमा आधारित र गैरआख्यान भएकै कारण मात्र पनि कुनै कृति साहित्यिक पत्रकारितामा दर्ज हुन सक्दैन ।
साहित्यिक पत्रकारिता
साहित्य र पत्रकारिता दुई पृथक् विधा हुन् । साहित्यको जन्म पत्रकारिताभन्दा निकै अघि भयो । अझ लोकसाहित्य त मानव विकासको प्रारम्भिक चरण जत्तिकै पुरानो मानिन्छ । पत्रकारिताको बीजारोपण भने इसापूर्व ५९ मा भएको इतिहास छ । ‘जर्नलिस्ट’ शब्दको पहिलो ज्ञात प्रयोग भने इस्वीको १७ औँ शताब्दीमा भएको ‘अक्सफोर्ड इङ्ग्लिस डिक्सनरी’ मा उल्लेख छ । ‘जर्नलिज्म’ (पत्रकारिता) शब्दको प्रयोग त अझ त्यसभन्दा निकै पछि मात्र भयो । ‘लिटररी जर्नलिज्म’ (साहित्यिक पत्रकारिता) पदावली सन् १९६० र १९७० का दशकहरूमा उत्पन्न र लोकप्रिय भएको मानिन्छ ।
वास्तवमा दुई पृथक्, महŒवपूर्ण र विपरीत ध्रुवीय विधा साहित्य र पत्रकारिताको उत्कृष्ट मेलबाट ‘साहित्यिक पत्रकारिता’ पदावलीको जन्म भएको र पत्रकारिताभित्र पनि नयाँ विधाका रूपमा ‘साहित्यिक पत्रकारिता’ को उदय भएको देखिन्छ । वर्तमान समयमा त उच्च शिक्षामा साहित्यिक पत्रकारितालाई एक विशिष्ट विधाका रूपमा पढाइन्छ पनि ।
ब्रिटानिका विश्वकोशले साहित्यिक पत्रकारितालाई कहिलेकाहीँ रचनात्मक गैरआख्यान, साहित्यिक रिपोर्टाज, तथ्यको साहित्य र गैरआख्यान उपन्यास पनि भनिने गरिएको र यो लेखनमा साहित्यिक प्रविधिहरूको प्रयोगसहितको तथ्यमा आधारित गहन रिपोर्टिङ भएको उल्लेख गरेको छ ।
फ्रान्समा आयोजित साहित्यिक पत्रकारितासम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनपछि सन् २००६ जुलाई १४ मा ‘इन्टरन्यासनल एसोसिएसन फर लिटररी जर्नलिज्म स्टडिज’ (आइएएलजेएस) को स्थापना भएको थियो । साहित्यिक पत्रकारिता÷रिपोर्टाज विषयमा अनुसन्धान, शिक्षण र विश्वव्यापी संवादलाई प्रवर्धन गर्ने उद्देश्यसहित स्थापित सो संस्थाको मान्यता छ– साहित्यिक पत्रकारिताको हाम्रो परिभाषा ‘साहित्यको बारेमा पत्रकारिता’ भन्दा ‘साहित्यको रूपमा पत्रकारिता’ हो ।
नेपाली कृतिमा साहित्यिक पत्रकारिताको सवाल
विख्यात लेखकहरूका कतिपय कृति पछिल्लो समयमा साहित्यिक पत्रकारिता विधाका कृतिका रूपमा दर्ज भए । यस्ता कृतिमा डेनियल डेफो (सन् १६६०–१७३१) को ऐतिहासिक आख्यान र शास्त्रीय साहित्य मानिएको तथा सन् १७२२ मा प्रकाशित ‘अ जर्नल अफ दी प्लेग इयर’, मार्क ट्वेन (सन् १८३५–१९१०) को सन् १८६९ मा प्रकाशित ‘दी इनोसेन्टस् अब्रोड’, जर्ज अरवेल (सन् १९०३–१९५०) को सन् १९३३ मा प्रकाशित संस्मरणात्मक रचना ‘डाउन एन्ड आउट इन पेरिस एन्ड लन्डन’, अर्नेस्ट हेमिंग्वे (सन् १८९९–१९६१) को सन् १९४० मा प्रकाशित उपन्यास ‘फर हुम दी बेल टोल्स’ आदि पर्न आउँछन् । साहित्यिक पत्रकारिता विधामा दर्ज भएका कृतिको सूची निकै लामो बन्छ । विषयवस्तुमा पनि त्यत्तिकै विविधता पाइन्छ ।
नेपालमा साहित्यिक पत्रकार र साहित्यिक पत्रकारिताको प्रसङ्ग उठेको पनि कम्तीमा साढे पाँच दशक भएको छ । साहित्यिक पत्रकार सङ्घले २०८२ भदौमा ५४ औँ र नेपाल साहित्यिक पत्रकार सङ्घले २०८२ असारमा १९ औँ स्थापना दिवस मनाए । साहित्यिक पत्रकारिता विषयमा बेलाबखत चर्चापरिचर्चा हुने गरेको छ । कृति, विशेषाङ्कहरू प्रकाशित भएका छन् । विशिष्ट संस्थाहरूले ‘साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएका छन् तर यी सम्पूर्ण प्रव्रिmयामा साहित्यिक पत्रकारिता विधाका कृतिहरूको अनुशीलन नगण्य देखिएको छ ।
मुलुकमा बर्सेनि ठुलो सङ्ख्यामा आख्यान तथा गैरआख्यान कृति प्रकाशित हुने गरेका छन् । तीमध्ये कतिपय साहित्यिक पत्रकारिता विधाका हुन सक्ने खालका पनि छन् । त्यस्ता कृतिको खोजी, पहिचान, मान्यता प्रदान, सार्वजनिकीकरण र ‘साहित्यिक पत्रकारिता’ को सूचीमा दर्ज गर्न आवश्यक छ । यस्ता कृतिहरूमध्ये एक हो, ‘जंगबहादुरको बेलाइत यात्रा’ । कमल दीक्षित (विसं १९८६–२०७३) द्वारा सम्पादित तथा मदन पुरस्कार पुस्तकालयद्वारा २०१४ सालमा प्रकाशित उक्त कृतिमा तत्कालीन ‘प्राइम मिनिष्टर’ जङ्गबहादुर राणा (विसं १८७४–१९३३) द्वारा १९०६ माघमा थालिएको ‘बेलाइत यात्रा’ को रोचक वर्णन छ । लेखकको नाम उल्लेख नगरिएको सो कृतिका पछिल्ला संस्करणहरूमा सान्दर्भिक सामग्री थपिनु उक्त कृतिको अर्को विशेषता हो ।
पछिल्ला दशकहरूमा कनकमणि दीक्षितको ‘देखेको मुलुक’, मोहन मैनालीको ‘मान्ठा डराएको जुग’, सुनिता दनुवारको ‘आँसुको शक्ति’, दुर्गा सुवेदीको ‘विमान विद्रोह’, त्रिपिटकाचार्य डा. भिक्षु धर्मरक्षितको ‘त्यो समयको नेपाल’, रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’ आदि पनि साहित्यिक पत्रकारिता विधाका कृतिका रूपमा दरिन सक्छन् । यस्ता कृति अरू पनि थुप्रै होलान्, छन् ।
खाँचो छ, साहित्यिक पत्रिका निकाल्नु वा साहित्यिक सिर्जनाको प्रकाशन/प्रसारण गर्नुलाई साहित्यिक पत्रकारिता मान्ने मानसिकताबाट माथि उठेर साहित्यिक पत्रकारिता हुन आवश्यक पूर्वसर्तहरूको ‘चालनी’ मा छानेर कृतिहरूको निष्पक्ष मूल्याङ्कन र पहिचान गर्ने कार्यको । यससम्बन्धी पूर्वाग्रहरहित प्राज्ञिक बहसको पनि खाँचो छ । नेपाली साहित्य र पत्रकारिता क्षेत्रको पठनपाठनमा यस्तो हुन सके साहित्यिक पत्रकारिता, नेपाली साहित्य र नेपाली पत्रकारिता क्षेत्रको विशिष्टताबोध र उन्नतिका लागि ठुलो सहयोग हुने छ ।