जीवछ यादव
लहान, चैत २८ गते । प्रतिनिधि सभा सदस्य चन्देश्वर मण्डलले देशको समृद्धिका लागि सरकारले गर्ने कार्यहरूमा समर्थन रहने बताउनुभएको छ ।
गोरखापत्रसँगको कुराकानीमा उहाँले देशको समृद्धि र विकासका लागि आफूले सदनमा सक्रिय रूपमा आवाज उठाउने भन्दै सरकारको गुण र दोषका आधारमा समर्थन वा विरोध रहने बताउनुभयो । सिङ्गो देश र पूरै मधेशमा समृद्धिका लागि प्रतीक्षारत जनभावनालाई मुखरित गर्ने गरी कामकाज हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । उहाँले देशमा सामाजिक विकृतिको अन्त्यसहितको सामाजिक न्याय, भ्रष्टाचारमुक्त समाज निर्माण र विधिको शासन आवश्यक रहेको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य मण्डलले मधेशका किसानलाई समयमा मल, बिउ र सिँचाइको प्रबन्ध गर्न सरकारलाई सधैँ खबरदारी गर्ने कार्यलाई प्राथमिकतामा राखेर सदनमा प्रस्तुत भइरहने भन्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने विषयमा कार्यक्रमको खाकासमेत प्रस्तुत गर्ने उहाँले बताउनुभयो । उहाँले समाजमा देखिएका विकृति र कुप्रथा अन्त्यका लागि सबैको सहयोग आवश्यक भएको भन्दै मधेशमा दाइजो, बालविवाह, छुवाछुत जस्ता विकृतिले गाडेको जरो उखेल्न सरकारले सबैलाई साथ लिएर अघि बढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले खुला सीमानाकाको फाइदा उठाउँदै सीमा क्षेत्रमा लागुऔषध कारोबार फस्टाएको भन्दै नेपाल–भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले निगरानीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै यस विषयमा आफूले सदनमा निरन्तर आवाज उठाइरहने बताउनुभयो । उहाँले मधेशको समृद्धिको आधारमध्ये पर्यटन क्षेत्र पनि एक रहेको चर्चा गर्दै यस क्षेत्रमा अझैसम्म प्रभावकारी योजना आउन नसकेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा प्रभावकारी योजना ल्याउन पर्यटनसम्बन्धी अध्ययन गरेका विज्ञसँग सल्लाह गरेर मधेश प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।
उहाँले मधेशको समृद्धिमा चुरे क्षेत्रको महत्व र संरक्षण आवश्यक रहेको भन्दै चुरे संरक्षण र कोशी–कमला डाइभर्सनको विषयमा समेत सदनमा स्पष्ट धारणा राख्ने बताउनुभयो । सरकारले घोषणा गरेका सय दिनका सय कार्यक्रमको विषयमा पनि गहिरो अध्ययन गरिरहेको भन्दै उहाँले भन्नुभयो, “ऐन कानुनको पालना गरी निष्पक्ष भएर कार्यान्वयनमा जान आवश्यक छ । क्षणिक लोकप्रियताका लागि प्रतिशोध साँध्ने कार्य हुनु हुँदैन ।”
मधेशको शिक्षा र स्वास्थ्यमा प्रगति नहुनुको कारण खोजी गर्नुपर्नेमा जोड दिँदै उहाँले यी दुवै क्षेत्रमा देखिएको विकृति हटाउने विषयमा पनि सदनमा सुझाव राख्ने प्रतिनिधि सभा सदस्य मण्डलले बताउनुभयो ।
सिराहा जिल्ला अर्नमा गाउँपालिका–४, गौरीपुरको एक किसान परिवारमा २०२० मा जन्मिएका प्रतिनिधि सभा सदस्य मण्डल गाउँकै जनकल्याण माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी छिमेकी देश भारत विहारको दरभङ्गाबाट विज्ञान विषयमा स्नातक (बिएस्सी) सम्मको शिक्षा हासिल गर्नुभएको छ । उहाँले आफू पढेकै जनकल्याण माध्यमिक विद्यालयमा दुई वर्षसम्म माध्यमिक तहको विज्ञान शिक्षकका रूपमा कामसमेत गरिसक्नुभएको छ ।
विसं २०३८ मा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता ग्रहणपछि नेकपा (एमाले) मा प्रवेश गरेका प्रतिनिधि सभा सदस्य मण्डल २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा गौरीपुर गाउँ विकास समितिको अध्यक्षमा नेकपा (एमाले) बाट निर्वाचित हुनुभएको थियो । २०५९ सालमा नेकपा (एमाले) जिल्ला कमिटीमा प्रवेश गर्नुभएका उहाँ २०६० सालमा नेकपा (एमाले) जिल्लाको कार्यालय सचिव भएर काम गरिरहँदा नेकपा (माओवादी) लाई संरक्षण गरेको आरोपमा तत्कालीन सरकारले उहाँलाई पक्राउ पनि गरेको थियो । त्यो बेला पाँच महिला प्रहरी हिरासतमा बसेका थिए ।
सिराहा जिल्ला कमिटी अध्यक्ष हुँदै २०८० सालमा नेकपा (एमाले) को मधेश प्रदेश अध्यक्षको जिम्मेवारी पाएका मण्डल सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले) को समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) को सक्रिय राजनीतिसँगै नेपाल रेडक्रस सोसाइटीको जिल्ला उपाध्यक्ष र मधेश प्रदेशको महासचिव भएर पनि सामाजिक कार्यमा उहाँले योगदान गर्नुभएको छ ।