• १२ साउन २०८१, शनिबार

भीमसेन थापाको योगदान अमूल्य छ : प्रधानमन्त्री देउवा

blog

प्रधानमन्त्री शेरबहादुर देउवा समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : सागर बस्नेत

काठमाडौं, साउन ९ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि अमूल्य योगदान पुर्‍याएको बताउनुभएको छ ।

राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानद्वारा सोमबार थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित पुरस्कार प्रदान समारोहमा उहाँले सो कुरा बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “उहाँको शासन व्यवस्था र सञ्चालनमा त्यस बेलाको प्रशासनमा महत्वपूर्ण भूमिका थियो । त्यसैबीच नेपालको राज्यलाई विस्तार गरेर प्रशासकीय नेतृत्व एवम् दायित्व सही ढङ्गले भयो ।”

थापाले विभिन्न क्षेत्रमा सुधार गर्दै आम नागरिकलाई प्रदान गरिने सेवा, सुविधाहरु स्थानीय मानिसलाई विदेश जान राहदानी वितरण, चिठ्ठीपत्र ओसारपसारलगायत मुलुकको अर्थतन्त्रको सुदृढीकरणका लागि विभिन्न काम गर्नुभएको चर्चा पनि प्रधानमन्त्रीले गर्नुभयो ।


प्रधानमन्त्रीले भन्नुभयो, ‘‘प्रजा कोषको स्थापना व्यवस्थित गर्ने, सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्दै समाजलाई आधुनिक बाटोमा अघि बढाउने कार्य भएको थियो । भीमसेन थापा कुशल शासक, उच्च कोटीको राष्ट्रवादी, राष्ट्र र राष्ट्रिय सार्वभौमिकतालाई बलियो बनाउन क्रियाशील व्यक्ति हुनुहुन्थ्यो ।” काठमाडौं उपत्यकाको सामाजिक सुधारमा थापाको योगदान रहेको थियो ।

पृथ्वीनारायण शाहको पालमा शुरु भएको एकीकरणमा थापाले भरपुर प्रयास गर्नुभएको र राष्ट्रियताप्रति अडान लिन डटेर सामना गर्नुभएको भनाइ पनि सम्बोधनको क्रममा प्रधानमन्त्रीले राख्नुभयो । 


उहाँले भन्नुभयो, “नेपाल तटस्थ मुलुकको रुपमा रहन सफल भयो । थापाले डटेर सामना गर्नुभएको थियो । नेपाल राष्ट्रको स्वाधीनतामा अमूल्य योगदान पुर्‍याउनुभयो । यसको स्मरणमा प्रतिष्ठानले गरेको कार्य उदाहरणीय छ । राष्ट्रको गौरव अक्षुण्ण राख्न योगदान दिनुहुने राष्ट्रिय विभूति भीमसेन थापाबारे थप शोध, अध्ययन तथा अनुसन्धान हुने विश्वास लिएको छु ।” प्रधानमन्त्री देउवाले थापाको स्मृतिमा प्रतिष्ठानले गर्दै आएको कार्यक्रम आगामी दिनमा निरन्तर अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुनर्निर्मााणको व्यवस्था मिलाइदिन प्रधानमन्त्री देउवासँग माग गर्नुभयो ।

कार्यक्रममा रु एक लाख राशिको भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो । पुरस्कार ग्रहण गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष रोवबहादुर थापाले भक्ति थापाका विषयमा अध्ययन अनुसन्धानका लागि पुरस्कारबाट प्राप्त रकमलाई सदुपयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा प्रा. डा .त्रिरत्न मानन्धर, प्रतिष्ठानका सदस्य–सचिव लक्ष्मण थापालगायतले नेपालको एकीकरण, इतिहास एवम् राजनीतिक क्षेत्रमा भीमसेन थापाले गर्नुभएको महत्वपूर्ण कामका बारेमा व्याख्या गर्नुभएको थियो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।