• ८ मंसिर २०८१, शनिबार

शिक्षाको महत्त्व (निबन्ध)

blog

गणेश दाहाल

‘शिक्षा’ भन्ने बित्तिकै स्कुल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने–गराउने वा पढेको  बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ । सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो । ‘शिक्षाको महत्त्व’ भनेको कुनै विषयमा सिकेर पोख्त हुने इच्छा वा चाहनाको महत्त्व हो । शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकोले आजको युगमा यसको निकै ठूलो महत्त्व रहेको छ । शिक्षाबिना मानिस ज्ञानले अन्धो नै हुन्छ । शिक्षा आजका मान्छेको एक महत्त्वपूर्ण गहन नै भएकोले यसको महत्त्व निकै ठूलो छ ।

मानिसले बालकालमा अरूले बोलेका वा काम गरेका अनुकरणबाट शिक्षा आर्जन गर्दछ । उसले स्कुल र क्याम्पस कक्षामा औपचारिक शिक्षा पाउँछ । त्यसपछि पनि उसको शिक्षा आर्जन गर्ने कार्य चाहिँ पूरा भइसकेको हुँदैन । अर्कातिर प्रकृति जगत् नै मानिसको सबभन्दा ठूलो शिक्षालय वा पाठशाला हो । नदी, पहाड, वृक्ष आदि वनस्पति, चराचुरुङ्गी, कीरा फट्याङ्ग्रा अनि जीवहरूको जीवनलाई शिक्षाको मुहान मान्न सकिन्छ ।

मानिसले शिक्षा आर्जन गर्ने स्कुल, क्याम्पस आदि हुन् । यिनै ठाउँमा विद्यार्थीको ज्ञानरूपी आँखा खुल्दछ । ज्ञान आर्जन गरिसकेपछि व्यक्तिभित्रको अज्ञान अन्धकार फाट्दै वा हराउँदै जान्छ अनि मानिस मूर्ख नभई ज्ञानी हुन्छ । आजको युगमा अशिक्षित मानिसले खुब दुःख पाउँछ । 

शिक्षा मानव जतिको आभूषण वा गहना हो । यसले समाजमा मानिसको इज्जत र मान प्रतिष्ठा बढाउँछ । शिक्षित व्यक्तिको सर्वत्र कदर पनि गरिन्छ । शिक्षा नै हरेक किसिमका उन्नतिको मुहान भएकोले यसैबाट व्यक्ति, समाज, राष्ट्र र विश्वको उन्नति हुन् सक्दछ । आजको भौतिक सुविधाले सम्पन्न युगको निर्माण शिक्षाकै कारणले भएको हो । यसले मानिसले भौतिक सुख र आत्मिक सुख दुवै प्रदान गर्दछ । शिक्षाले नै राष्ट्रको उन्नतिमा ठूलो टेवा पु¥याउने भएकोले यसको महत्त्व सबैभन्दा माथि छ ।