• ७ जेठ २०८१, सोमबार

विद्युत्को बक्यौता रकम बहत्तर करोड

blog

रङ्गेली समाचारदाता

विराटनगर, साउन ९ गते ।  नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रको विद्युत् बक्यौता ७२ करोड २८ लाख रुपियाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ६५ करोड रहेकामा गत आर्थिक वर्ष २०७८/७९ मा सात करोड बक्यौता थपिएको हो । विद्युत् बक्यौता घटाउने लक्ष्य राखिए पनि बर्सेनि बढ्दै गएको छ । विराटनगर महानगरपालिका, कटहरी, जहदा, ग्रामथान र बूढीगङ्गा गाउँपालिका सेवा क्षेत्र रहेको कार्यालय मातहत ७७ हजार ७७७ ग्राहक छन् । 

जसमा गार्हस्थ्य ७३ हजार ५१५ ग्राहकबाट १७ करोड बक्यौता असुल गर्न बाँकी देखिएको छ । प्राधिकरणका लेखा प्रमुख यामकर्ण बस्नेतका अनुसार एक हजार ५४३ औद्योगिक ग्राहकबाट ३७ करोड बक्यौता असुल गर्न बाँकी छ । अघिल्लो वर्ष औद्योगिक क्षेत्रका ग्राहकबाट ३४ करोड बक्यौता असुल गर्न बाँकी थियो । 

औद्योगिक क्षेत्रमा आपूर्ति गरिएको विद्युत् बक्यौता बर्सेनि बढ्दै गएको हो ।    

प्राधिकरणअन्तर्गत १४ प्रकारका ग्राहक रहेका छन् । ७३९ व्यापारिक ग्राहकमध्येबाट एक करोड ७१ लाख, ३५८ सडक बत्तीको मात्रै १० करोड ९६ लाख रुपियाँ बक्यौता असुल गर्न बाँकी देखिएको छ । यसैगरी सिँचाइका एक हजार ५४ मिटर जडान भएका ग्राहकमध्येबाट ४२ लाख ५३ हजार रुपियाँ बक्यौता देखिएको छ । गैरगार्हस्थ्य (निजी विद्यालय तथा अस्पताल) ६४ ग्राहकबाट एक करोड २२ लाख बक्यौता उठ्न बाँकी छ । प्राधिकरणबाट मनोरञ्जन व्यवसायका लागि आठ, खानेपानी १९, यातायात एक, मन्दिर ९४, अस्थायी बत्ती ११ र आन्तरिक खपतका १३ मिटर जडान छन् ।  यसरी प्रयोग गर्ने विद्युतको महसुल बुझाउन आनाकानी गरिने गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले कार्यालयअन्तर्गतको सेवा क्षेत्रका गत एक आर्थिक वर्षमा ३१ वटा नयाँ ट्रान्सफर्मर जडान गरिएको जानकारी दिनुभयो । भएकामध्ये १२ वटाको अपग्रेड गरिएपछि अहिले कार्यालय मातहत ५०८ वटा ट्रान्सफर्मर पुगेका छन् । सेवाग्राहीको मागअनुसार ट्रान्सफर्मर थप गर्ने कार्य चालू आर्थिक वर्षमा निरन्तरता पाउने प्रमुख खड्काले जानकारी दिनुभयो । विद्युत् आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न कार्यालय मातहत ट्रान्सफर्मरको सङ्ख्या ६६५ वटा पु-याउने योजना गतवर्ष बनाइएको थियो  ।