गोकर्ण दयाल
बैतडी, चैत १९ गते । डेढ सय वर्ष पुरानो अन्तर्राष्ट्रिय सीमानाका झुलाघाटमा नेपालतर्फ ब्यागेज एक्सरे मेसिन र मेटेल डिटेक्टर जस्ता उपकरण नहुँदा हातले छामेर चेकजाँच गर्नुपर्ने बाध्यता छ ।
नेपालतर्फ झुलाघाट भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट र क्वारेन्टाइन चेकपोस्ट छन् । यी निकायसित ब्यागेज चेकजाँच गर्ने एक्सरे मेसिन नहुँदा आवतजावत गर्ने मानिसका झोला र आयातित वस्तु हातले छामेर वा प्वाल पारेर हेर्नुपर्ने बाध्यता छ ।
यहाँ तत्कालीन बेलायती शासनकालमा सन् १८७७ (विसं १९३३) मा महाकाली नदी तर्न निर्माण भएको झोलुङ्गे पुल छ । यो नाका भएर दैनिक दुई सयभन्दा बढी मानिसको आवतजावत हुन्छ । त्यति नै मात्रामा महाकाली भन्सार कार्यालयले आयातित मालसामान बोरामा फलामको डन्डीले प्वाल पारेर चेकजाँच गर्दै आएको छ ।
भारततर्फ मेसिनबाट झोला र मालसामान चेकजाँच भए पनि नेपालतर्फका सुरक्षाकर्मीले चेकजाँचका नाममा बाटोमा झोला चेक गर्दा हैरानी खेप्नु परेको शेरिराम भुलले गुनासो गर्नुभयो । उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय गरी तीन/चार ठाउँमा झोला खोलेर देखाउनु पर्दा हैरानी खेप्नु परेको बताउनुभयो ।
सुरक्षाकर्मीसँग मेसिन उपकरण नहुँदा सीतिम स्रोतसाधनका भरमा चेकपोस्ट सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक सुरज सिंहले बताउनुभयो । उहाँले भन्सार कार्यालयले ब्यागेज एक्सरे मेसिन उपलब्ध नगराएका कारण नाकामा सुरक्षाकर्मीले हातले छामेर सामान चेकजाँच गर्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । यद्यपि नाकामा बस्ने प्रहरीसँग पनि मेटेल डिटेक्टर जस्ता उपकरण छैनन् । नेपालमा आधुनिक भन्सार प्रशासनको सुरुवात विसं २०१३ सालमा भए पनि झुलाघाट सीमानाका १५० वर्ष पुरानो नाका हो । यहाँ सीमावर्ती व्यापार र आवतजावतलाई व्यवस्थित गर्न विसं २०२३ पछि महाकाली भन्सार कार्यालय स्थापना भएको थियो ।
महाकाली भन्सार कार्यालयले भारतबाट हुने व्यापार, मालसामानको जाँचपास र गैरकानुनी सामग्रीको नियन्त्रण गर्दै आएको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ८६ लाख ८४ हजार रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
झुलाघाट सीमानाकालाई व्यवस्थित गर्न आधुनिक उपकरणको खाँचो रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो । उहाँले मेसिन उपकरणबारेमा बेला बेलामा आवाज उठे पनि सामग्री नपाएको बताउनुभयो ।
सटही काउन्टर बन्द
झुलाघाट नाकामा रहेको सटही काउन्टरसमेत २५ वर्षदेखि बन्द रहेको छ । सटही काउन्टर नहुँदा व्यापारीलाई चर्को कमिसन दिएर नेपाली मुद्रा साट्नुपर्ने बाध्यता छ ।
महाकाली भन्सारसँगै रहेको सटही काउन्टर द्वन्द्वका बेला २०५७ सालमा बन्द भएको थियो । शान्ति प्रव्रिmयापछि महाकाली भन्सार कार्यालय स्थापना भए पनि सटही काउन्टर स्थापना नहुँदा नेपालीले समस्या भोग्नु परेको स्थानीय व्यापारी रघुवीर थापाले बताउनुभयो ।
आपत्कालीन समयमा उपचारका लागि भारतको पिथौरागढ जाँदा नेपाली मुद्रा नचल्ने हुँदा पाँच प्रतिशत कमिसन दिएर भारतीय मुद्रा साट्नुपर्ने बाध्यता रहेको नेपालीले गुनासो गरेका छन् ।
हुँदैन विषादी परीक्षण
सीमानाका झुलाघाटमा क्वारेन्टाइन भए पनि विषादी परीक्षण गर्ने उपकरण नभएको कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशको अत्तरियामा मात्रै विषादी परीक्षण गर्ने उपकरण छन् ।”