ढल्केबर समाचारदाता
ढल्केबर, चैत १४ गते । चैत १९ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेश प्रदेशबाट ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका सूचना अधिकारी थानेश्वर यादवका अनुसार परीक्षाका लागि प्रदेशभर २९९ वटा परीक्षा केन्द्र तोकिएको छ भने एक हजार ३१६ विद्यालयका विद्यार्थी यसमा सहभागी हुने छन् ।
सूचना अधिकारी यादवका अनुसार परीक्षालाई व्यवस्थित बनाउन २९९ जना केन्द्राध्यक्ष, ४३३ जना सहायक केन्द्राध्यक्ष, चार हजार २३५ जना निरीक्षक, ७३४ जना परीक्षा सहायक तथा एक हजार ६०३ जना कार्यालय सहयोगी खटाइने भएको छ । यस्तै चार हजार ४८५ जना सुरक्षाकर्मी परिचालन गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार मधेश प्रदेशका आठ जिल्लामध्ये धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुने छन् । धनुषाका २०३ विद्यालयका १३ हजार २६२ विद्यार्थी परीक्षामा सहभागी हुने उहाँले जानकारी दिनुभयो । सबैभन्दा कम सप्तरीबाट १६२ विद्यालयका नौ हजार २७६ विद्यार्थी परीक्षामा सहभागी हुने सूचना अधिकारी यादवले बताउनुभयो । निर्देशनालयले दिएको तथ्याङ्क अनुसार सिराहाबाट ११ हजार ३८, महोत्तरीबाट ११ हजार ३५१, सर्लाहीबाट ११ हजार ३७१, रौतहटबाट नौ हजार ७७७, बाराबाट १० हजार ८१३ र पर्साबाट १० हजार ७०३ विद्यार्थी परीक्षामा सहभागि हुने छन् ।
निर्देशनालयको तथ्याङ्क अनुसार अघिल्लो वर्षको एसइईको तुलनामा यस वर्ष एक हजार २६७ विद्यार्थी कम छन् । अघिल्लो वर्ष ८८ हजार ८५८ विद्यार्थी सहभागी थिए ।
शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक महेन्द्र महतोले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समितिमार्फत निरीक्षण तथा अनुगमन गरिने तयारी गरिएको जानकारी दिनुभयो ।
निर्देशक महतोले मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायतका निकायको समन्वयमा प्रदेशस्तरीय अनुगमन टोली गठन गरी परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइने तयारी भएको बताउनुभयो ।