• १२ चैत २०८२, बिहिबार

अर्जुनचौपारीमा धार्मिक घरबासको तयारी

blog

अर्जुनचौपारी गाउँपालिका । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 
स्याङ्जा, चैत १२ गते ।
अर्जुनचौपारी गाउँपालिकाले धार्मिक होमस्टे (घरबास) को तयारी गरिएको छ ।  धार्मिक तथा पर्यटकीय गन्तव्य नेपालकै पहिलो नवग्रह मन्दिर आसपासको क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने उद्देश्यले गाउँपालिकाले घरबासको तयारी गरेको हो ।

गाउँपालिकाले स्थानीय बासिन्दा तथा टोल समूहलाई होमस्टे सञ्चालनका लागि आवेदन दिन आह्वान गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले नवग्रह मन्दिर दर्शन गर्न आउने भक्तजन तथा पर्यटकलाई स्थानीय कला, संस्कृति, परम्परा र अर्गानिक खानपान सहितको आतिथ्यता प्रदान गर्ने लक्ष्यसहित घरबासको तयारी गरेको बताउनुभयो ।

यसबाट एकातर्फ धार्मिक पर्यटन प्रवर्धन हुने र अर्कोतर्फ स्थानीयस्तरमा आम्दानीका नयाँ अवसर सिर्जना हुने अर्यालले बताउनुभयो ।  

स्थानीय सहभागितामै आधारित भएर नवग्रह क्षेत्रको विकास गर्न खोजिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो ।

यो कार्यक्रमले धार्मिक पर्यटनलाई दीगो र व्यवस्थित बनाउँदै स्थानीयलाई प्रत्यक्ष लाभ दिने बताउदै अर्यालले गाउँको पहिचानसँगै आर्थिक गतिविधि पनि विस्तार गर्ने बताउनुभयो ।

होमस्टे सञ्चालनका लागि कम्तीमा दुईवटा सफा पाहुना कोठा, व्यवस्थित शौचालय, स्थानीय उत्पादनमा आधारित अर्गानिक खाना, सात्विक भोजन र अनुशासित वातावरण अनिवार्य गरिएको छ ।

यस्तै बेलुकीको समयमा भजन–कीर्तनमार्फत आध्यात्मिक वातावरण निर्माण गर्नुपर्ने मापदण्ड पनि राखिएको छ ।

दर्ता प्रक्रियाका लागि आमा समूह शाखाबाट तोकिएको फारम भर्नुपर्नेछ भने छनोटमा परेका घर वा समूहलाई गाउँपालिकाले तालिम र प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ ।