राजन रावत
हुम्ला, फागुन २७ गते । सोमवारदेखि हिमाली जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ । नियमित पालुअनुसार उडान भर्ने समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएको र नेपाल एयरलाइन्सको जहाज काठमाडौँबाट फिर्ता नआउँदा हवाई सेवा अवरुद्ध भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण सिमिकोटका प्रमुख महेन्द्र सिंहका अनुसार सोमवार र मङ्गलवार दुई दिन लगातार हवाई सेवा अवरुद्ध भएको छ । यी दुई दिन समिट एयर र नेपाल एयरलाइन्सले उडान भर्ने तालिका रहे पनि समिटको जहाजमा प्राविधिक समस्या आएको र नेपाल एयरलाइन्सको जहाज काठमाडौँबाट नेपालगन्ज नआएकाले हुम्लाको उडान हुन नसकेको उहाँले बताउनुभयो ।
हाल हुम्लाका लागि निजी एयरलाइन्सले हप्तामा दुई–दुई दिन पालो लगाएर उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्सले हप्ताको सोमवार र मङ्गलवार उडान भर्ने गरे पनि पछिल्लो समय नियमित उडान हुन छाडेको छ । हवाई सेवा बन्द हुँदा निर्वाचनमा मतदान गर्न जिल्ला बाहिरबाट आउनुभएका यात्रीहरू मर्कामा पर्नुभएको छ ।
यस्तै, अस्पतालले जिल्ला बाहिर 'रिफर' गरेका बिरामीहरू समेत उडान रोकिँदा समस्यामा परेका छन् । निर्वाचनका लागि हवाई मार्ग हुँदै सात सयभन्दा बढी यात्री जिल्ला भित्रिएका थिए, जो अहिले फिर्ता हुन पाएका छैनन् ।