राजन रावत
हुम्ला, फागुन २६ गते । यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुम्लाका देउडा गायक कलाकारहरूको आम्दानी राम्रो भएको छ । निर्वाचनमा प्रतिस्पर्धी दलका उम्मेदवारहरूले प्रचारप्रसारका लागि देउडा कलाकारहरूलाई व्यापक रूपमा प्रयोग गरेपछि उनीहरूको कमाइ बढेको हो ।
एउटै पार्टीका सातदेखि आठ स्थानमा भएका चुनावी सभाहरूमा देउडा गाउन भ्याएको देउडा गायक हिराकला विसीले बताउनुभयो । उहाँका अनुसार एउटा स्थानमा देउडा गाएबापत उम्मेदवारले १० देखि १५ हजार रुपैयाँसम्म पारिश्रमिक दिने गरेका छन् । विसीले हुम्लाका ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी घरदैलोदेखि सभाहरूमा देउडा प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी, अर्का कलाकार अमृतकुमार अनमोलले पनि १० वटा स्थानमा देउडा गाएको बताउनुभयो । उहाँले सबै दलका उम्मेदवारका कार्यक्रममा देउडा प्रस्तुत गर्नुभएको थियो, जसबापत उहाँले प्रति कार्यक्रम २० देखि २५ हजार रुपैयाँसम्म प्राप्त गर्नुभयो । हुम्लाकी अर्की देउडा गायिका सुस्मिता परियारले पनि ठुला तीनै दलको कार्यक्रममा देउडा गाएर राम्रो आम्दानी भएको सुनाउनुभयो । उहाँले एउटा कार्यक्रममा देउडा गाएबापत १५ हजार रुपैयाँ लिने गर्नुभएको छ ।
उम्मेदवारहरूले आफ्ना चुनावी कार्यक्रममा जिल्लाभित्र र बाहिरका देउडा गायक–गायिकाहरूलाई आमन्त्रण गरी विशेष साङ्गीतिक कार्यक्रम नै राख्ने गरेका थिए । यस पटकको निर्वाचनमा उम्मेदवारहरूले कम्तीमा १० जना देउडा कलाकारलाई प्रयोग गरेको पाइएको छ ।
चुनावी सभा र घरदैलोमा मात्र नभई उम्मेदवारहरूले आफ्नो प्रचारका लागि कलाकारमार्फत अडियो गीतहरू समेत तयार पारेका थिए । १० वटा देउडा गीतको अडियो निर्माणका लागि उम्मेदवारले एक लाख रुपैयाँसम्म खर्च गरेका छन् । यसरी अडियोमार्फत गरिने प्रचारले पनि यस पटकको निर्वाचनमा उत्तिकै स्थान पाएको थियो ।