• २६ फागुन २०८२, मङ्गलबार

बाँकेमा ४७ उम्मेदवारको जमानत जफत

blog

सिराज खान 

नेपालगन्ज, फागुन २६ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार यस पटक बाँकेका ४७ उम्मेदवारले आवश्यक मत सङ्ख्या पुर्‍याउन नसक्दा धरौटी रकम गुमाएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार यस पटक विजयी हुने र जमानत जोगाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार मात्र छन् । तीनवटै क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र राप्रपाका उम्मेदवारको समेत धरौटी जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले ५६ उम्मेदवारमध्ये तीन जना विजयी भएको र अन्य ६ जनाले मात्र जमानत जोगाउन सफल भएको जानकारी दिनुभयो ।