• २ जेठ २०८१, बुधबार

धानको उत्पादकत्व वृद्धि

blog

दमक, साउन ५ गते । झापामा बोरो तथा चैते धानको उत्पादकत्व बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धानबालीको सुपरजोन कार्यक्रममार्फत धान खेती विस्तार कार्यक्रम प्रभावकारी बन्दै गएपछि उत्पादकत्व बढेको बताइएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पाँच वर्षअघि प्रतिहेक्टर उत्पादकत्व ४.६९ मेट्रिक टन रहेकामा अहिले बढेर ५.६ मेट्रिक टन पुगेको छ । आव २०७८/७९ मा १४ हजार ११३ मेट्रिक टन चैते धान उत्पादन भएको पनि वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ । 

जिल्लामा वर्षे धानको उत्पादकत्व भने ५.६९ मेट्रिक टन रहेको छ । चैते धान खेती विस्तार कार्यक्रम, चक्लाबन्दीमा सहयोग, मेसिनरी र आधुनिक खेती प्रणालीको विस्तारलगायतले उत्पादकत्व बढेको परियोजना, कार्यान्वयन एकाइ झापाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रवीन्द्र सुवेदीले बताउनुभयो ।

आव २०७३÷७४ सालदेखि लागू भएको यो कार्यक्रमले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणलाई जोड दिँदै आएको छ । सुरुमा यो कार्यक्रम कचनकवल गाउँपालिकाको सबै वडा र भद्रपुर नगरपालिकाको वडा नं. १, २ र ३ मा सञ्चालन गरिएको थियो । यहाँ हिउँदे, चैते र वर्षे धानको उत्पादन गरिँदै आएको छ ।

आव २०७६/७७ देखि १४ वटै स्थानीय तहमा दुई सय हेक्टरको क्लस्टरमा क्षेत्र विस्तार गरी कार्यक्रम लागू भएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार वर्षे धान बालीको खेती यस क्षेत्रको सबै खेतीयोग्य जमिनमा हुने गरे पनि चैते र बोरो धानबालीको खेती सिँचाइ सुविधा भएको क्षेत्रमा हुने गरेको छ । 

यस क्षेत्रको माटो धानबालीका लागि अत्यन्तै उपयुक्त रहेका कारण दुईदेखि तीन बाली धान खेतीको विस्तार नै यस क्षेत्रको कृषि प्रणालीको उत्तम सम्भावना रहेको पनि सुवेदीले बताउनुभयो । “परियोजना लागू भएपछि सिँचाइको सुविधा, यन्त्र उपकरणको उपलब्धता र नवीनतम प्रविधिको प्रयोगबाट यस क्षेत्रमा हिउँदे र चैते धान खेतीको विस्तार भएको हो,” उहाँले भन्नुभयो ।