भक्तपुर, फागुन १९ गते । जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित चार जनालाई सशस्त्र प्रहरीले भक्तपुरको लोकन्थलीबाट नियन्त्रणमा लिएको छ । सुनसरीको धरान उपमहानगरपालिका–१३ का ३३ वर्षीय थापा लागु औषध कारोबार मुद्दामा कैद भुक्तानी गरिरहेकै अवस्थामा जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।
थापासँगै लागु औषध कारोबारमा संलग्न भक्तपुर, लोकन्थलीका ३३ वर्षीय आशिष पाण्डे, ललितपुरको इमाडोलकी २१ वर्षीया राशि गौतम र काठमाडौँको नक्सालका २१ वर्षीय युनिक पोखरेललाई नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले सोमबार दिउँसो साढे १२ बजे लोकन्थलीको एक गल्लीमा जस्ताको टहरामा डेरा गरी लागु औषध कारोबार गरिरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । खानतलासीका क्रममा उनीहरूको साथबाट १५ ग्राम लागु औषध (ब्राउन सुगर) र ५० वटा ट्याब्लेट समेत फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि बरामद लागु औषधसहित सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।