• १९ फागुन २०८२, मङ्गलबार

इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

blog

जेरुसेलम, फागुन १९ गते । इजरायली सेनाले लेबनानका दर्जनौं स्थानमा मङ्गलबार नयाँ निकासी आदेश जारी गरेको छ । इजरायली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानको ५० वटा स्थानका बासिन्दालाई, आफ्नो सुरक्षाका लागि तुरुन्तै सुरक्षित ठाउँमा जान आग्रह गर्दै आदेश जारी गरेको सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले बताउनुभएको छ । 

निकासी आदेश जारी हुने अधिकांश स्थान लेबनानका दक्षिणी भेगका रहेको र इजरायलले निरन्तर हेजबुल्लाहको पूर्वाधारमा प्रहार गर्ने उद्देश्यले यस क्षेत्रलाई लक्षित गर्ने गरेको जनाइएको छ । यस अघि लेबनान सरकारले सोमबार हेजबुल्लाहको सैन्य र सुरक्षा गतिविधिमा प्रतिबन्ध लगाएको थियो । आक्रमणमा सर्वोच्च इरानी नेता अली खमेनीको हत्या भएकोे बदलामा सोमबार इजरायलमा प्रहार गरे पछि निकासी आदेश जारी गरेको जनाइएको छ । 

इजरायलले सोमबार बेरुतको दक्षिणी उपनगर र दक्षिण लेबनानका दर्जनौ गाउँमा बम प्रहार गरेको छ भने बदलामा भयानक आक्रमणको सामना गर्नु पर्ने चेतावनी दिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु हुनुका साथै कम्तीमा १४९ जना घाइते भएको जनाएको छ । रासस/एएफपी