• १९ फागुन २०८२, मङ्गलबार

घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो

blog

फाइल तस्बिर ।

चितवन,  फागुन १९ गते । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ । 

वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जका घाँसे मैदानमा प्रत्येक वर्ष नियन्त्रित डढेलो लगाउने गरिन्छ ।

हाल भिम्ले, सुखिभार र कसरा क्षेत्रमा नियन्त्रित डढेलो लगाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । क्रमशः अन्य क्षेत्रहरूमा नियन्तित्र डढेलो लगाइने छ । 

उक्त कार्यका लागि निकुञ्जका ३० जना कर्मचारी खटिएका छन् । सूचना अधिकारी मगरले भन्नुभयो, “नियन्त्रित डढेलो लगाएपछि ठुलो डढेलोको सम्भावना टर्छ ।”

यसले वन र वन्यजन्तुमा ठुलो असर नपर्ने र घाँसे मैदान व्यवस्थापनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । नियन्त्रित डढेलो लगाउन निकुञ्जका घाँसे मैदानमा एक महिना लाग्ने उहाँले जानकारी दिनुभयो ।घाँसे मैदानलाई खण्ड खण्ड बनाएर डढेलो लगाइन्छ । रासस